ई-मधेश न्युज
महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ लोकार्पण
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०१ चैत्र ।
स्रष्टा तथा संगीतकार महेश्वर पन्त द्वारा लिखित कथासङ्ग्रह धर्तीमुनिका तारा एक साहित्यिक समारोहबीच सार्वजनिक गरिएको छ।
साहित्यकार रमेश दाहाल द्वारा सम्पादित उक्त कृतिको लोकार्पण अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान को संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा भूपाल राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने सभापतित्व प्रा.डा. पार्थिवेश्वर तिमिल्सिना ले गरेका थिए।
कार्यक्रममा प्रा.डा. गोविन्दमानसिंह कार्की, प्रा.डा. रामप्रसाद दाहाल र साहित्यकार सन्ध्या पहाडी लगायतले कृतिको विषयवस्तु र साहित्यिक महत्त्वमाथि टिप्पणी गरेका थिए।
सो अवसरमा अनेसास नेपाल च्याप्टरले स्रष्टा पन्तलाई “स्रष्टा प्रज्ञा सम्मान–२०८२” प्रदान गरी सम्मानित गरेको थियो।
कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा प्रकाशित उक्त कृतिको बिक्रीबाट प्राप्त रकम नेपाली भाषा, साहित्यको प्रवद्र्धन तथा सामाजिक विकासमा प्रयोग गरिने लेखक पन्तले बताए। कार्यक्रममा विभिन्न साहित्यकार र साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।