ई-मधेश न्युज
उपराष्ट्रपतिबाट होली २०८२ का अवसरमा शुभकामना सन्देश
लिलाकान्त यादव काठमाडौँ, फागुन १८ । रामसहाय प्रसाद यादव ले फागूपूर्णिमा (होली) २०८२ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। फागुन १८ गते सोमबारका दिन जारी शुभकामना सन्देशमा उपराष्ट्रपतिले देश तथा विदेशमा रहनुभएका नेपाली नागरिकको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि मंगलकामना गर्नुभएको हो। उपराष्ट्रपतिले रङ्ग र उमङ्गको प्रतीकका रूपमा मनाइने होली पर्वले आपसी सद्भाव, भाइचारा र मेलमिलापलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। सत्यको विजय र असत्यको पराजयको सन्देश बोकेको यस पर्वले समाजमा प्रेम, सहिष्णुता र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउने उहाँको भनाइ छ। शुभकामना सन्देशमा परम्परागत होरी (फागु) गीत, जोगिरा, ढोलक र विभिन्न सांस्कृतिक परम्पराले नेपाली समाजको मौलिक पहिचान झल्काउने उल्लेख गरिएको छ। साथै, प्राकृतिक तथा वातावरणमैत्री रङ्गको प्रयोग गरी सभ्य र मर्यादित ढंगले पर्व मनाउन सबैमा अपिल गरिएको छ। उपराष्ट्रपतिले होली पर्वले परिवार, समुदाय र सम्पूर्ण राष्ट्रलाई एकताको सूत्रमा बाँध्दै सामाजिक सद्भाव र सांस्कृतिक विविधताको संरक्षणमा टेवा पुर्याओस् भन्ने कामना व्यक्त गर्नुभएको छ। उहाँले पर्वले पुराना मनमुटाव अन्त्य गरी नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ।