ई-मधेश न्युज
उपेन्द्र यादवको दाबी– ‘निर्णायक शक्ति मधेश, अब देशको भविष्य तय गर्छ’
लिलाकान्त यादव,
राजविराज, १६ फाल्गुन ।
उपेन्द्र यादवले मधेश अब राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा उभिएको दाबी गरेका छन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका उनले शनिबार घरदैलो कार्यक्रमका क्रममा आममतदातालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष यादवले विगतमा राज्यले मधेशलाई उपेक्षा गर्दै आएको उल्लेख गर्दै मधेशलाई बेवास्ता गरेर समृद्ध राष्ट्र निर्माण सम्भव नहुने जिकिर गरे। “मधेश केवल भौगोलिक क्षेत्र होइन, यो स्वाभिमान र अधिकारको ज्वलन्त आवाज हो,” उनले भने, “अबको निर्णायक शक्ति मधेश हो र देशको भविष्य पनि मधेशले नै तय गर्नेछ।”
मधेश आन्दोलनका बलिदान र त्यागको स्मरण गर्दै उनले मधेश बलियो भए मात्र संघीयता सुदृढ हुने र देश सुरक्षित तथा समृद्ध बन्ने बताए। उनले मधेशका एजेन्डा, विभेद र उत्पीडनका सवाललाई गाउँदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउने काम जसपा नेपालले गर्दै आएको दाबी गरे।
नयाँ दलहरूप्रति संकेत गर्दै यादवले केही शक्तिहरूको ध्यान केवल मधेशको मतमा केन्द्रित रहेको तर मधेशले भोग्दै आएको गरिबी, अशिक्षा, बेरोजगारी र संरचनागत विभेदप्रति संवेदनशीलता नदेखिएको आरोप लगाए।
उनले यस निर्वाचनलाई सामान्य प्रतिनिधि चयन प्रक्रिया नभई मधेशको सम्मान, अधिकार र भविष्यसँग जोडिएको महत्वपूर्ण अवसरको रूपमा व्याख्या गर्दै मतदातालाई सचेत, एकताबद्ध र स्वाभिमानको पक्षमा मतदान गर्न आग्रह गरे। साथै, आगामी निर्वाचनपछि जसपा नेपाल निर्णायक शक्तिका रूपमा उदाउने दाबीसमेत गरे।