emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विगतका उपलब्धि देखाएर मत माग्दै वर्षमान पुन, रोल्पामा फरक चुनावी अभ्यास

source e-Madhesh २०८२ फाल्गुन १३ गते , बुधबार
2
Shares
38
Views
विगतका उपलब्धि देखाएर मत माग्दै वर्षमान पुन, रोल्पामा फरक चुनावी अभ्यास


ईमधेश न्युज सम्वाददाता,
रोल्पा  १३ फाल्गुन ।
 चुनावी राजनीतिमा प्रायः भविष्यका वाचा, नयाँ योजना र आकर्षक नाराहरू हाबी हुने परम्पराका बीच रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वर्षमान पुन ‘अनन्त’ ले यसपटक फरक शैली अपनाएका छन्। उनले भविष्यका प्रतिबद्धताभन्दा विगतमा आफूले गरेका कामलाई आधार बनाएर मत माग्ने रणनीति अघि सारेका छन्।
तेस्रोपटक चुनावी मैदानमा उत्रिएका पुनले “अब के गर्ने” भन्दा “अहिलेसम्म के गरियो” भन्ने विषयलाई केन्द्रमा राखेका छन्। उनका चुनावी सामग्रीहरूमा सडक विस्तार, विद्युत् पहुँच वृद्धि, शिक्षा र स्वास्थ्य पूर्वाधार सुदृढीकरण, खानेपानी तथा सिँचाइ आयोजना, ग्रामीण विद्युतीकरण र स्थानीय सडक सञ्जाल विस्तारजस्ता योजनाहरूलाई तथ्यांकसहित प्रस्तुत गरिएको छ। संघीय बजेटमार्फत रोल्पामा ल्याइएका कार्यक्रम र योजनाको विवरणसमेत सार्वजनिक गरिएको छ।
विशेषगरी भिडियो सामग्रीमार्फत प्रमाणसहित उपलब्धि देखाउने प्रयासलाई रोल्पामा नयाँ अभ्यासका रूपमा हेरिएको छ। उनले आफ्ना कार्यकालमा सम्पन्न आयोजनाहरूको दृश्य सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मतदातालाई मूल्यांकन गर्न आग्रह गरेका छन्।
राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित पुनमाथि विगतमा जिल्लामा ठोस काम कम देखिएको भन्ने आलोचना हुने गरेको थियो। यसपटक भने उनले त्यही आलोचनाको जवाफ कामको विवरणमार्फत दिन खोजेका छन्। “जनतालाई अब भविष्यका सपना बाँडेर मात्रै हुँदैन, विगतमा जनप्रतिनिधिका रूपमा के गरियो भन्ने तथ्य प्रस्तुत गर्नुपर्छ,” पुनको भनाइ छ।
राजनीतिक चेतना र परिवर्तनको केन्द्रका रूपमा चिनिने रोल्पामा मतदाता अपेक्षाकृत सचेत र परिणाममुखी रहेको विश्लेषण गरिन्छ। यस्तो अवस्थामा उपलब्धि–आधारित चुनावी अभियानले आरोप–प्रत्यारोपभन्दा बाहिर निस्केर तथ्यमा आधारित बहसलाई प्राथमिकता दिने संकेत गरेको छ।
यस अभ्यासले चुनावी प्रतिस्पर्धालाई नारा र भावनाबाट हटाएर कामको मूल्यांकनतर्फ मोड्ने प्रयासका रूपमा लिइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार