ई-मधेश न्युज
भारतका विभिन्न स्थानबाट पाँच नेपालीको उद्धार, रुपन्देहीमा परिवारलाई जिम्मा
ईमधेश न्युज सम्वाददाता,
रुपन्देही, १२ फाल्गुन ।
भारतका विभिन्न राज्यबाट पाँच जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता गरिएको छ। प्राप्त जानकारी अनुसार Delhi Police, Embassy of Nepal in New Delhi र KIN India को समन्वयमा उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याइएको हो।
उद्धार गरिएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको रोहबरमा परिवारको जिम्मा लगाइएको जनाइएको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोको जानकारी तथा समन्वयमा भारतको दिल्लीस्थित महिपालपुरको कैलाश होटलबाट उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको थियो। स्वदेश फर्किएपछि उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उपस्थित गराइएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ।
पीडितहरूलाई ठगी तथा मानव बेचबिखनमा संलग्न व्यक्तिविरुद्ध जाहेरी दिन सहयोग भइरहेको छ। नेपालमा रहेका KIN India का ग्लोबल संयोजक इन्द्रराज भट्टराईको टोलीले कानुनी सहयोग र परामर्श प्रदान गरिरहेको जनाएको छ।
यस अभियानमा बालविवाह रोकथाम अभियन्ता तथा सगरमाथा आरोही कल्पना महर्जन पनि सक्रिय रूपमा संलग्न रहँदै आएकी छन्। उनी केही समययता मानव बेचबिखनविरुद्ध सचेतना तथा उद्धार अभियानमा सक्रिय रहँदै आएकी छन्।
उद्धार कार्यमा शुभ अवसर ग्राम नेपाल र शान्ति शिक्षा अभियान नेपाल ले समेत सहकार्य गरेका छन्। सम्बन्धित निकायले मानव बेचबिखनविरुद्ध सतर्कता अपनाउन र शंकास्पद गतिविधिबारे तुरुन्त जानकारी दिन सर्वसाधारणसँग आग्रह गरेका छन्।