ई-मधेश न्युज
सप्तरीमा मदिरा र सुर्ती बिक्रीमा कडाइ, प्रशासनको विशेष अनुगमन
लिलाकान्त यादव,
राजविराज, ११ फाल्गुन ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा कडाइ गर्ने निर्णय गरेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले यस्तो कदम चालिएको हो।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको अध्यक्षतामा आइतबार बसेको बैठकले निर्वाचन अवधिभर अवैध मदिरा ओसारपसार तथा बिक्री–वितरणमा कडा निगरानी गर्ने निर्णय गरेको जनाएको छ। अनुमति बिना मदिरा बिक्री गर्न पूर्ण निषेध गरिएको छ भने इजाजतबिना बिक्री गरेको पाइएमा मदिरा जफत गरी कानुनी कारबाही गरिनेछ। होटल तथा रेस्टुरेन्टमा मदिरा सेवनको समय बेलुका ८ बजेसम्म मात्र तोकिएको छ।
यसैबीच, मिठाई पसलहरूले म्याद गुज्रेका तथा अखाद्य वस्तु प्रयोग गरेको गुनासो आएपछि प्रशासनले अनुगमन तीव्र बनाउने जनाएको छ। ढुवानी गर्दा मिठाई अनिवार्य रूपमा ढाकेर लैजानुपर्ने र प्रयोग हुने तेलको गुणस्तर परीक्षण गरिनेछ।
त्यसैगरी, इजाजतपत्र बिना सुर्तीजन्य पदार्थ बिक्री गरेमा कारबाही गरिने चेतावनी दिइएको छ। विद्यालय, कलेज, स्वास्थ्य संस्था जस्ता संवेदनशील क्षेत्रबाट १०० मिटरभित्र सुर्ती बिक्रीमा रोक लगाइने प्रशासनले स्पष्ट पारेको छ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले निर्वाचन अवधिमा शान्ति, सुरक्षा र उपभोक्ता अधिकार संरक्षणलाई प्राथमिकता दिइने बताए।