emadheshnews2019@gmail.com ९८४२८२१९०५ , ९८०४७०८०७३

२०८२ वैशाख १५ गते , सोमबार
चिसो हावा र हुस्सुले तराईका जनजीवन कष्टकर
e-Madhesh २०८२ वैशाख १५ गते , सोमबार

भूपदेव माली 
 सप्तरी।
तीन दिनदेखि निरन्तर असह्य चिसो सिरेटो चलेर वातावरणमा बाक्लो हुस्सुले डम्म ढाकेपछि सप्तरी सहित तराई मधेसका जिल्लामा जनजीवन कष्टकर भएको छ । 
बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै सितलहर सुरु भएसँगै चिसो हावा चलेकोले जनजीवन कष्टकर बन्दै गएको हो ।

चिसो र सितलहरले  पूर्व झापादेखि कञ्चनपुरसम्म तराईका जिल्लामा जनजीवन प्रभावित बनेको छ । चिसोको कारण सप्तरीका विभिन्न पालिकाहरुको जनजीवन कष्टकर बनेको छ । सप्तरीको पातो,बरसाईन,कञ्चनपुर, फत्तेपुर , राजविराज , भारदह, हनुमाननगर , महुली र रुपनी बजारहरुमा चहलपहल घटेको छ । अत्यधिक जाडोले सवारीसाधनमा यात्रुको चाप समेत घटेको छ ।
चिसोबाट बच्चा, वृद्ध र विपन्न परिवारहरु बढी प्रभावित हुनेगरेको छ । खासगरी किसानलाई खेतबारीमा कामकाज गर्न असहज हुनु संगै गाई-गोरु, बाख्रा आदी लाई चरचारण गर्न मुश्किल भएको छ। अत्यधिक चिसोको कारण मानिसहरुलाई घर बाहिर निस्कन समेत मुस्किल परेको  हुँदा कोशी नदी भित्रको क्षेत्रमा मकै र गहुँको  बालीहरूको रक्षाको लागि खेतमा राती जंगली जनावर पहरेदारी  गर्ने कृषकहरु लाई ठुलो समस्याको सामना गर्नुपरेको भारदहका किसानहरुले  बताउँछन् ।
विद्यालय, क्याम्पसमा विद्यार्थीको उपस्थिति घटेको छ ।  न्यानो कपडा बिक्रीबाहेक अन्य व्यापार व्यवसायमा मन्दी आउन थालेको भारदह बजारका कपडा व्यापारी कालेश्वर माझीले बताए ।
ग्रामिण भेगमा खास गरी चिसो छल्न घुर (आगो) बालेर तापिरहेका छन् । जाडोको कारण तराई मधेशमा बर्षेनी विपन्न परिवारका व्यक्तिहरूको मृत्यु हुँदै आएको छ ।
चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरू बढी प्रभावित भएका  छन् ।
 स्थानीय तहले आगो बालेर ताप्नको लागि दाउराको ब्यवस्था र न्यानो कपडाको प्रबन्ध गरिदिने मुसहर समुदाय आशमा आगो ताप्ने गरिएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

हालको समाचार