ई-मधेश न्युज
अन्तर्राष्ट्रिय सहनशीलता दिवस: विश्वभरि सहअस्तित्व र अहिंसाको संदेश
हरेक वर्ष नोभेम्बर १६ मा विश्वभर अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै आएको छ। संयुक्त राष्ट्र संघले १९९६ मा पारित गरेको रिजोल्युसन ५१÷९५ मार्फत सदस्य राष्ट्रहरूलाई यो दिवस मनाउन आग्रह गरेपछि सहिष्णुताको आवश्यकता र महत्वबारे विश्वव्यापी रूपमा जागरूकता फैलाउन थालिएको हो।
यो दिवस विशेषगरी ९० को दशकमा अफ्रिका, बाल्कन र काकेशस क्षेत्रमा भएका जातीय र सांस्कृतिक द्वन्द्वका घटनाहरू— विशेषतः रुवान्डा र बोस्नियाली नरसंहार—को पृष्ठभूमिबाट सुरु भएको मानिन्छ। ती घटनाका पीडित परिवार र अन्तर्राष्ट्रिय समुदायले द्वन्द्व रोकथाम तथा मानवअधिकारको प्रवद्र्धनका लागि सहिष्णुताको मूल्यलाई विश्वभर विस्तार गर्न संयुक्त राष्ट्रलाई सुझाव दिएका थिए।
युनेस्कोको नेतृत्वमा कार्यक्रम
सहनशीलता दिवसका अवसरमा प्रत्येक वर्ष युनेस्कोले विश्वभर विभिन्न सम्मेलन, छलफल तथा जागरूकता कार्यक्रम आयोजना गर्छ। असहिष्णुता, विभेद र हिंसाबाट उत्पन्न जोखिमबारे सचेत गराउँदै सहिष्णुता, अहिंसा र आपसी सम्मानका मूल्यहरूलाई मजबुत बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिन्छ।
शैक्षिक संस्था, सामाजिक संघ–संस्था र समुदायस्तरमा पनि अन्तरक्रिया, कार्यशाला, सांस्कृतिक कार्यक्रम तथा शान्ति–यात्रा जस्ता गतिविधि आयोजना हुँदै आएको छ।
सहनशीलता दिवसको मुख्य सन्देश
सहिष्णुता विविधता स्वीकार्ने क्षमता मात्र होइन, सामाजिक स्थिरता र शान्तिको आधार भएको बताइन्छ। जातीय, धार्मिक, भाषिक तथा सांस्कृतिक विविधताबीच आपसी सम्मान र संवाद कायम राख्न सकेमा समाजलाई हिंसा र द्वन्द्वबाट जोगाउन सकिने विशेषज्ञहरूको भनाइ छ।
अन्तर्राष्ट्रिय सहनशीलता दिवसले अहिंसात्मक सोच, बहुसंस्कृतिको स्वीकार्यता र मानवअधिकारप्रतिको प्रतिबद्धतामार्फत शान्तिपूर्ण समाज निर्माणमा सबैलाई सक्रिय भूमिकाका लागि प्रेरित गर्ने सन्देश दिएको छ।