ई-मधेश न्युज
विश्व पर्यटन दिवस २०२५ ः पर्यटन र दिगो रूपान्तरणको अभियान
“अतिथि देवो भवः“ – नेपाली संस्कृतिको यो मूल मन्त्र पर्यटनको आधारशिला बनेको छ। पाहुनालाई भगवान् समान मान्ने हाम्रो परम्पराले नै नेपाललाई अद्वितीय पर्यटकीय गन्तव्य बनाएको छ। हिमाल, हरियाली, सांस्कृतिक विविधता र शान्तिप्रिय बुद्धभूमि नेपालका अमूल्य सम्पदा हुन्, जसलाई अवलोकन गर्न हरेक वर्ष लाखौं पर्यटक यहाँ आइपुग्छन्।
तर, सम्भावना ठूलो हुँदाहुँदै पनि नेपालले पर्यटनबाट प्राप्त गर्न सक्ने लाभलाई पर्याप्त रुपमा उपयोग गर्न सकेको छैन। हिमाल आरोहण, पदयात्रा, धार्मिक स्थल भ्रमणदेखि जैविक र सांस्कृतिक पर्यटनसम्म विविधता बोकेको नेपाल अझै पनि पूर्वाधार, प्रचार–प्रसार र व्यवस्थापनका चुनौतीसँग जुधिरहेको छ।
यस वर्षको विश्व पर्यटन दिवस २०२५ को नारा “Tourism and Sustainable Transformation” तय गरिएको छ। यसले पर्यटनलाई वातावरणमैत्री अभ्यास, स्थानीय समुदायको सशक्तीकरण र पृथ्वी तथा मानव दुवैको लागि दीर्घकालीन लाभ दिने सकारात्मक रूपान्तरणको चालकका रूपमा देखाउँछ। जिम्मेवार, समावेशी र भविष्यमुखी पर्यटन प्रवद्र्धनमा यसले जोड दिन्छ।
सेप्टेम्बर २७ मा मनाइने यो दिवसले “सबैका लागि पर्यटन” भन्ने भावनालाई पनि अघि सारेको छ। कारण जे भए पनि — अपाङ्गता, चोटपटक, उमेर वा पारिवारिक अवस्था — पर्यटनको सुविधा र फाइदा कुनै पनि वर्गले गुमाउन नपर्ने सन्देश यस दिवसले दिन्छ।
नेपालले पर्यटनलाई दिगो विकाससँग जोड्दै प्राकृतिक सम्पदा संरक्षण, स्थानीय उत्पादन प्रवद्र्धन, रोजगार सिर्जना र समावेशी पहुँच विस्तार गर्ने दिशामा कदम चाल्न सकेमा यस उद्योगले मुलुकलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउन सक्ने विज्ञहरूको मत छ।
यसरी, विश्व पर्यटन दिवस २०२५ केवल उत्सव मात्र होइन, नेपालको लागि अवसर हो— दिगो, समावेशी र विश्वव्यापी पर्यटन प्रवद्र्धनमार्फत भविष्य सुरक्षित गर्ने।