ई-मधेश न्युज
जापानी राजदूत तोरुसंग सम्मानीय उपराष्ट्रपति यादवको शिष्टाचार भेटवार्ता
लिलाकान्त यादव,
काठमाडौं, १२ माघ ।
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि जापानका महामहिम राजदूत मायदा तोरूले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भेटवार्तामा शुभकामना आदानप्रदान पश्चात दुई देशबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, व्यापार तथा लगानीका विषयमा छलफल भएको थियो।
उपराष्ट्रपति यादवले नेपाल र जापानबीच १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता सम्बन्ध मैत्रीपूर्ण र घनिष्ट हुँदै आएको उल्लेख गर्नुभयो। उहाँले भूकम्पजस्ता प्राकृतिक विपद्का बेला जापानले प्रदान गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै नेपाल–जापान सम्बन्ध सुमधुर बनेकोमा खुशी व्यक्त गर्नुभयो।
उहाँले नेपाल र जापानबीच “एसियाका ज्योति” भगवान बुद्धको शिक्षाबाट प्रेरित युगौँ पुरानो सामाजिक–सांस्कृतिक सम्बन्ध रहेको र राजदूत तोरूको कार्यकालमा यो सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो। साथै, उच्चस्तरीय भ्रमण तथा विचार आदानप्रदानले नेपाल–जापान सम्बन्धको गतिशीलता बढाएकोमा उहाँले जोड दिनुभयो।
उपराष्ट्रपतिले जापानलाई नेपालका लागि १९५४ देखि एक विश्वासिलो विकास साझेदारका रूपमा प्रशंसा गर्दै जापानले द्विपक्षीय अनुदान, ऋण, प्राविधिक सहयोगजस्ता विविध माध्यमबाट नेपालको मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, र वातावरण संरक्षणमा सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।
उहाँले नागढुंगा सुरुङ मार्गजस्ता परियोजनाबाट जापानको प्राविधिक सहयोग र ज्ञानले नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान गरेकोमा खुशी व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा औद्योगिक विकास, कृषि, जलविद्युत्, र अन्य क्षेत्रहरूमा जापानी अनुभव र प्रविधिबाट थप लाभ उठाउन नेपाल इच्छुक रहेको बताउनुभयो।
नेपालको ओसाका एक्स्पो २०२५ मा सहभागिताले द्विपक्षीय व्यापार र नेपाली उत्पादनको प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गर्दै उपराष्ट्रपतिले जापान सरकारलाई निरन्तर सहयोगका लागि धन्यवाद दिनुभयो।
महामहिम राजदूत मायदा तोरूले नेपाल–जापान सम्बन्धलाई थप बलियो बनाउन आफ्नो कार्यकालमा प्रयास गर्ने बताउनुभयो। नागढुंगा सुरुङ मार्ग यसै वर्ष सञ्चालनमा आउने जानकारी दिँदै उहाँले नेपालले ओसाका एक्स्पोमा सहभागी हुने निर्णयप्रति खुशी व्यक्त गर्नुभयो।
भेटघाटले नेपाल–जापान सम्बन्धलाई अझ मजबुत बनाउने दिशामा महत्त्वपूर्ण योगदान गरेको छ।