ई-मधेश न्युज
अन्तर्राष्ट्रिय युवा दिवसः युवाशक्ति र राष्ट्रनिर्माणको यात्रा
अगस्त १२ का दिन संसारभर अन्य वर्षझैं यस वर्ष पनि अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यो दिवसले व्यक्ति, समाज, राष्ट्र र विश्व विकासमा युवाको भूमिकाको महत्वलाई उजागर गर्दै उनीहरूको सहभागिता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दछ। युवा अवस्था शक्ति, जोश, जाँगर र उत्साहको प्रतीक हो। यही उमेरमा नेतृत्व गर्ने साहस, नयाँ सोच, मौलिकता र परिवर्तनको चेतना प्रबल हुन्छ।
इतिहास साक्षी छ—कुनै आन्दोलन, युद्ध वा सामाजिक परिवर्तन युवाको सक्रिय सहभागिताविना सम्भव भएको छैन। युवाहरू परिवर्तनका संवाहक मात्र होइनन्, राष्ट्रको भविष्यको आधारस्तम्भ पनि हुन्। तर, अवसर र मार्गदर्शन नपाउँदा यही शक्ति चुनौतीमा बदलिन सक्छ।
नेपालमा विगत केही दशकदेखि युवाहरू रोजगारी, अध्ययन र सम्भावना खोज्दै विदेशिने क्रम तीव्र भएको छ। खाडी मुलुक, कोरिया, जापानजस्ता देशहरूमा पसिना बगाउने नेपाली युवाहरूको संख्या दिनानुदिन बढ्दो छ। विप्रेषणले गाउँघरमा पक्की घर, आधुनिक सुविधा र उपभोग्य सामग्री ल्याए पनि मानव संसाधनको कमी, कृषिमा घट्दो श्रमशक्ति र सामाजिक संरचनामा पर्ने असर गम्भीर चुनौतीका रूपमा देखा परेका छन्।
युवाहरू देशको गहना हुन् भने, उनीहरूलाई विदेशिनै नपर्ने वातावरण सिर्जना गर्नु अनिवार्य छ। वैदेशिक रोजगारको विकल्पस्वरूप देशमै रोजगारी र उद्यमशीलताको अवसर विस्तार गर्नुपर्छ। विकासका पूर्वाधार निर्माण, पुनर्निर्माण, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा युवाको सहभागिता बढाउन सके मात्र राष्ट्र समृद्ध बन्न सक्छ।
आजको दिन केवल औपचारिकता नभई, युवाको अधिकार, अवसर र सशक्तिकरणको एजेन्डा अघि बढाउने अवसर हो। राजनीतिक अस्थिरता, पारम्परिक सोच र अवसरको असमान वितरणलाई तोड्न युवाशक्ति नै मुख्य आधार हो।
मानवता, दिगोपन र न्यायको भविष्य युवाको विचार, ऊर्जा र प्रतिबद्धतामा निर्भर छ। त्यसैले, आज र हरेक दिन, मानिस र ग्रहको लागि न्यायपूर्ण र दिगो संसारको निर्माणमा युवाको साथ र समर्थन गरौं—“हे युवा, जय युवा!“