ई-मधेश न्युज
नागपञ्चमीको सांस्कृतिक र धार्मिक महत्व
श्रावण शुक्ल पक्षको पञ्चमी तिथिमा मनाइने नागपञ्चमी हिन्दू धर्मको एक महत्वपूर्ण पर्व हो, जुन नागदेवताका पूजा-अर्चनामा समर्पित गरिएको दिन हो। यो दिन विशेषगरी १२ पवित्र नागहरूको पूजा गरिन्छ, जसमा अनन्त, वासुकी, शेष, पद्म, कम्बल, कारकोटक, अश्वतर, धृतराष्ट्र, शङ्खपल, कालिया, तक्षक र पिङ्गला पर्दछन्।
नागपञ्चमीको दिन घरको मूल ढोकामा गाईको गोबरले लिपपोत गरेर ब्राह्मण पुरोहितले नागको चित्र टाँस्ने परम्परा छ। यस्ता चित्रले वर्षभर घरको सुरक्षामा सहयोग पुर्याउने जनविश्वास रहेको छ। पुरोहितलाई दक्षिणा, नैवेद्य र भोजन दिने परम्परा आज पनि विद्यमान छ।
शास्त्रीय ग्रन्थहरूमा नागपञ्चमीको उल्लेख छ, विशेषतः महाभारतमा यसको ऐतिहासिक आधार भेटिन्छ। राजा परीक्षितलाई तक्षक नागले डसेर मार्छन् र उनका पुत्र जन्म जयले सम्पूर्ण सर्प विनाशको संकल्पसहित महायज्ञ गर्दछन्। इन्द्रको शरणमा पुगेका तक्षक नाग पनि यज्ञको प्रभावमा तानिएपछि ऋषिहरूको आग्रहमा जन्म जयले यज्ञ रोकेको कथन पाइन्छ। त्यस दिन सर्पहरूले पुनर्जीवन पाए भन्ने जनविश्वासका आधारमा आजको दिन मनाइन्छ।
नागपञ्चमीको दिन सर्पहरूलाई दूध, फूल, मिष्ठान्न र भुटेको धान (लावा) चढाइन्छ। प्रत्यक्ष सर्पको सट्टा आजको दिन उनीहरूको चित्र वा मूर्तिलाई पूजा गरिन्छ। नागपञ्चमीले जीव–जन्तुप्रति सह-अस्तित्वको सन्देश दिने धार्मिक पर्वका रूपमा महत्त्व बोकेको छ।