ई-मधेश न्युज
सीता जयन्तीः त्याग, साधना र सशक्तताको उत्सव
वैशाख शुक्ल नवमीका दिन मनाइने सीता जयन्ती हिन्दू धर्ममा विशेष महत्व बोकेको पर्व हो। यस दिन भगवान श्रीरामकी धर्मपत्नी र आदर्श नारी पात्र सीता माताको जन्मोत्सव मनाइन्छ। जनकपुरधाममा राजा जनकले हलो जोत्न क्रममा धर्तीबाट पाएको कारणले सीतालाई ‘धर्तीकी छोरी’ मानिन्छ। ऋग्वेदमा पनि सीतालाई धर्तीकी देवीको रूपमा वर्णन गरिएको पाइन्छ।
सीता त्रेता युगमा रामसँग विवाह बन्धनमा बाँधिएकी थिइन्। धनुष यज्ञ, वनवास, रावणद्वारा अपहरण, अग्निपरीक्षा र अन्ततः धर्तीमै विलीन हुने सीताको जीवन घटनाले भरिएको छ। यस्ता कठोर परिक्षा हुँदाहुँदै पनि सीता धर्म, धैर्य र सन्तुलनको प्रतीक बनी रहिन्।
सीता माताको जीवन केवल पौराणिक कथा होइन, यो समर्पण, नारी शक्ति र सहनशीलताको उदाहरण हो। रामको नाम लिँदा पहिले सीताको नाम लिइनु—“सीताराम”—यसको प्रत्यक्ष प्रमाण हो। स्वामी विवेकानन्दले सीतालाई “अद्वितीय नारी शक्ति” भनेर सम्मान गरेका थिए।
सीता जयन्तीका दिन भक्तजनहरू उपवास बस्ने, पूजाआजा गर्ने, राम–सीताको भजन गाउने गर्छन्। विशेषगरी जनकपुरस्थित जानकी मन्दिरमा ठूलो मेला लाग्दछ।
सीता केवल धार्मिक पात्र मात्र होइनन्, नारी अधिकार, समानता र आत्मसम्मानको प्रतीक पनि हुन्। सीताको जीवनले समाजमा नारीले भोग्नुपरेका अन्यायको सामना कसरी गरिन्छ भन्ने पाठ सिकाउँछ। सीता जयन्ती आजको सन्दर्भमा पनि समर्पण, साधना र शक्तिको प्रेरणाको स्रोत बन्ने पर्व हो।