ई-मधेश न्युज
भूमि अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्दै जसपा नेपाल
लिलाकान्त यादव,
काठमाडौं, १५ फाल्गुन ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरकारले संसदमा प्रस्तुत गरेको भूमि अध्यादेशबारे बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको छ।
जसपा नेपाल निकट बौद्धिक पेशाकर्मी महासंघ नेपाल ले विभिन्न राजनीतिक दलका शीर्ष नेता र विज्ञहरूको सहभागितामा अन्तरक्रिया गर्ने तयारी गरेको हो।
शुक्रबार दिउँसो काठमाडौं, नयाँ बानेश्वरस्थित इन्द्रेणी बैंक्वेटको मैत्री हलमा आयोजना हुने कार्यक्रमका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख वक्ताको रूपमा आमन्त्रित गरिएको छ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल,
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर,
जसपा नेपालका उपाध्यक्षद्वय राजकिशोर यादव र मृगेन्द्र सिंह यादव रहेका छन्।
कार्यक्रममा भूमि व्यवस्थापनसम्बन्धी विज्ञहरूमा विजयकान्त कर्ण,डा. उमाशंकर प्रसाद, गोपीनाथ मैनाली, शेखर यादव, माधव देव र नागेन्द्र प्रसाद यादव ले आफ्नो धारणा प्रस्तुत गर्ने छन्।
सरकारले ल्याउन लागेको छ वटा अध्यादेशमध्ये भूमि सम्बन्धी अध्यादेशलाई राष्ट्रको हित विपरीत भएको ठहर गर्दै जसपा नेपालले यसविरुद्ध मतदान गर्ने औपचारिक निर्णय गरिसकेको छ।
भूमि अध्यादेश पारित भए सार्वजनिक जग्गाको चरम दुरुपयोग हुने भन्दै जसपा नेपालको कडा आपत्तिपछि संसदमा ती अध्यादेशहरू अलपत्र परेका छन्।