ई-मधेश न्युज
आज मधेश बलिदानी दिवसः शहीदहरूको सम्झनामा विशेष कार्यक्रम
आज माघ ५, मधेश आन्दोलनका क्रममा बलिदान भएका वीर शहीदहरूको सम्झनामा मधेश बलिदानी दिवस मनाइँदैछ। यो दिन मधेश आन्दोलनका शहीदहरूको योगदानलाई सम्मान गर्दै मधेशको अधिकार, पहिचान, र समानताको संघर्षलाई स्मरण गर्ने ऐतिहासिक अवसरका रूपमा लिइन्छ।
२०६३ साल माघ १ मा आठ दलको सहमतिमा ल्याइएको अन्तरिम संविधानले मधेशी जनताका मुख्य मागहरूलाई सम्बोधन गर्न नसक्दा असन्तोषको बीजारोपण भयो। समानुपातिक प्रतिनिधित्व, संघीयता, र राज्य पुनर्संरचनासम्बन्धी मागहरूलाई बेवास्ता गरिएपछि मधेशी जनतामा रोष बढ्यो।
माघ २ गते, मधेशी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवको नेतृत्वमा काठमाडौँको माइतीघरमा संविधानको प्रतिलिपि जलाइयो। यसको विरोधमा सरकारद्वारा कडा दमन गरियो। उपेन्द्र यादवसहित २८ जना नेतामाथि राजद्रोहको मुद्दा लगाइयो। यस घटनापछि मधेश आन्दोलनले व्यापक रुप लिँदै मधेशभर उग्र प्रदर्शनहरू सुरु ग¥यो। आन्दोलनका क्रममा २०६३ साल माघ ०५ गते सिरहाको लहानमा स्थानिय रमेश महतो लगायतको मधेशी निधन भएको सम्झनामा मधेश केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँछ ।
मधेश आन्दोलनले नेपालको राजनीतिक, सामाजिक र संवैधानिक व्यवस्थामा ठूला परिवर्तनहरू ल्यायो। मधेशी जनताको समानता, पहिचान, र संघीयता स्थापनाको लागि यो आन्दोलनले ऐतिहासिक दबाब सिर्जना ग¥यो। शहीदहरूले देखाएको साहस र बलिदानले मधेश आन्दोलनलाई सफल बनाउँदै संघीयताको सपना साकार गर्ने आधारशिला निर्माण ग¥यो।
आजको दिनले मधेशी जनतामा आत्मसम्मान, अधिकार, र पहिचानका लागि लड्न प्रेरणा प्रदान गर्छ। शहीदहरूले देखाएको बाटोमा हिँड्दै उनीहरूको सपना पूरा गर्न सबैले एकजुट हुनुपर्ने नेताहरूको धारणा छ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) सहित विभिन्न राजनीतिक दलहरूले बलिदानी दिवसको अवसरमा शहीदहरूको बलिदानको कदर गर्दै मधेशको अधिकार सुनिश्चित गर्न संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मधेश बलिदानी दिवसले केवल विगतका घटनाहरूलाई सम्झनाका लागि मात्रै होइन, तर मधेशको अधिकार र पहिचानको मुद्दालाई अझ सशक्त बनाउन सबैलाई प्रेरणा दिने काम गरिरहेको छ। शहीदहरूको योगदानको कदर गर्दै उनीहरूको सपना साकार पार्न यस दिनले सबै मधेशीलाई एकताको सन्देश प्रदान गरेको छ।