ई-मधेश न्युज
बुद्ध जयन्ती विशेषः शान्ति, सहिष्णुता र मानवताको सन्देश
आज विश्वभर बुद्ध जयन्ती विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइँदै छ। यस अवसरमा गौतम बुद्ध को जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणलाई स्मरण गरिन्छ। नेपालमा यस दिनलाई विशेष रूपमा मनाइँदै आएको छ भने सरकारले सार्वजनिक बिदा पनि दिएको छ।
बुद्ध धर्म शाक्यमुनि गौतम बुद्ध र उनका अनुयायीहरूको शिक्षामा आधारित एक महान दार्शनिक तथा आध्यात्मिक परम्परा हो। बुद्धलाई वर्तमान कल्पका चौथो सम्यक् सम्बुद्ध मानिन्छ। विश्वभर करिब ३५ करोडभन्दा बढी मानिसले बुद्ध धर्म अवलम्बन गरेका छन्, जसले यसलाई विश्वको चौथो ठूलो धर्म बनाएको छ। नेपालसहित चीन, भारत, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, जापान, भुटान लगायतका देशमा यसको व्यापक प्रभाव देखिन्छ।
बुद्धका सम्पूर्ण शिक्षा र उपदेशहरूको सङ्ग्रहलाई त्रिपिटक भनिन्छ, जसमा उनका ३२ भौतिक गुणहरूको विस्तृत वर्णन गरिएको छ। साथै ८४ हजार ज्ञानसूत्रहरू समेटिएका छन्, जसमा बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार उपदेशहरू रहेका छन्। बुद्ध दर्शनको मुख्य आधार प्रतित्यसमुत्पाद, अनित्य, दुःख र अनात्म जस्ता सिद्धान्तहरू हुन्।
बुद्धलाई हिन्दु धर्ममा भगवान् विष्णुको दश अवतारमध्ये एक मानिन्छ भने उनलाई “एसियाको तारा” का रूपमा पनि चिनिन्छ। लुम्बिनीमा जन्मिएका बुद्धले विश्वलाई शान्ति, करुणा र सहिष्णुताको मार्ग देखाएका छन्।
हाल विश्वमा विभिन्न प्रकारका द्वन्द्व, विभेद र असहिष्णुता बढिरहेका बेला बुद्धको दर्शन अझ सान्दर्भिक बनेको छ। जात, भाषा, धर्म र भूगोलका आधारमा भइरहेका विभाजनलाई अन्त्य गर्न बुद्धका शिक्षाले मार्गदर्शन गर्न सक्छन्।
बुद्ध जयन्तीले मानवतालाई शान्ति र सद्भावको बाटोमा अघि बढ्न प्रेरणा दिन्छ। यस अवसरमा देशभर पूजा, प्रवचन, दीप प्रज्वलन तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना भइरहेका छन्। बुद्धका शिक्षालाई आत्मसात् गर्दै विश्व शान्तिको कामना गरिएको छ।