ई-मधेश न्युज
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ३० बैशाख ।
अन्तर्राष्ट्रिय नर्सिङ डेका अवसरमा नेपाल मेडिकल कलेजमा मञ्चन गरिएको ‘सेतो कोटको पछाडिको पीडा’ नाटकले स्वास्थ्यकर्मीहरूको भोगाइ र संवेदनालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । नर्सिङ विभागद्वारा आयोजित कार्यक्रममा प्रस्तुत नाटकले डाक्टर र नर्सहरूले भोग्ने मानसिक तनाव, त्याग र सामाजिक चुनौतीलाई उजागर गरेको हो ।
नाटकमा बिरामीको उपचारका लागि दिनरात खटिने स्वास्थ्यकर्मीहरूको संघर्ष, परिवारभन्दा पेशालाई प्राथमिकता दिनुपर्ने बाध्यता तथा बिरामी बचाउन नसक्दा उनीहरूमाथि हुने दोषारोपणलाई यथार्थपरक ढंगले देखाइएको थियो । प्रस्तुति हेर्दै धेरै स्वास्थ्यकर्मी भावुक बनेका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि तथा कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले स्वास्थ्यकर्मीहरू बिरामीको जीवन बचाउन अन्तिमसम्म इमान्दारितापूर्वक प्रयासरत रहने बताउँदै उनीहरूलाई सम्मान र सुरक्षित कार्य वातावरण आवश्यक रहेको धारणा राखिन् । कलेजकी निर्देशक डा. नुसरत जहाँ अन्सारीले नर्सहरूको योगदान स्वास्थ्य सेवामा अतुलनीय रहेको उल्लेख गर्दै पेशागत सुरक्षा र क्षमता विकासमा कलेज प्रतिबद्ध रहेको बताइन् ।
कार्यक्रममा प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय र मेट्रोन नविना सिंहले पनि नर्सहरूको सेवाभाव र समर्पणको प्रशंसा गरेका थिए । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चित्रकला, हाजिरीजवाफ, सरसफाइ तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।