ई-मधेश न्युज
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २८ बैशाख ।
देव गुरुङले लिपुलेक–कालापानी समस्याको समाधान राष्ट्रिय सहमति र कूटनीतिक पहलमार्फत सम्भव रहेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार पश्चिममुखी परराष्ट्र नीतितर्फ ढल्किँदा छिमेकी मुलुकहरू असन्तुष्ट बनेको दाबी गरे।
उनले युनाईटेड स्टेटसँगको एसपीपी, एमसीसी तथा विभिन्न सैन्य सहकार्यका विषयले भारत र चिन दुवैलाई चिढ्याएको टिप्पणी गरे। सत्ता र कुर्सीका लागि विदेशी सैन्य गठबन्धनतर्फ झुक्दा देशको अस्तित्व नै जोखिममा पर्न सक्ने उनको भनाइ थियो।
गुरुङले ऐतिहासिक दस्तावेज र प्रमाणले लिपुलेक क्षेत्र नेपालकै भूभाग रहेको दाबी गर्दै यस विषयमा राष्ट्रिय एकता र दृढ कूटनीतिक पहल आवश्यक रहेको बताए। “चीन छिमेकीसँग द्वन्द्व चाहँदैन, भारत पनि आन्तरिक चुनौतीमा छ, त्यसैले वार्ताबाट समाधान खोज्ने यो उपयुक्त समय हो,” उनले भने।
कार्यक्रममा मनऋषि धिताल ले पनि भारतको परराष्ट्र नीतिका कारण छिमेकीहरू असन्तुष्ट रहेको भन्दै सबै नेपाली एकजुट भएर पहल गरे भारतीय सेना हटाउन सकिने धारणा राखे। उनले वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र सुकुम्बासीका मुद्दामा असफल भएको आरोपसमेत लगाए।