ई-मधेश न्युज
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
लिलाकान्त यादव,
राजविराज, २८ बैशाख ।
नेपाल प्रहरीले हराएका तीन जना बालकलाई फेला पारी अभिभावकको जिम्मा लगाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मिति २०८३ वैशाख २८ गते बिहान करिब ४ः३० बजे प्रहरी चौकी लक्ष्मीपुरबाट प्रहरी सहायक निरीक्षक संजय झाको कमाण्डमा खटिएको गस्ती टोलीले सुरुंगा नगरपालिका–४ कदमाहा क्षेत्रमा तीन जना बालकलाई हिँडिरहेको अवस्थामा भेटेको थियो।
सोधपुछका क्रममा उनीहरू गोल्डेन ई.बो. स्कुलको होस्टेलमा बस्दै अध्ययनरत रहेको र कसैलाई जानकारी नदिई होस्टेलबाट निस्किएको खुलेको प्रहरीले जनाएको छ।
फेला परेका बालकमध्ये बोदेबर्साइन नगरपालिका–३ गौरा टोल निवासी पंकज मण्डलका १२ वर्षीय छोरा प्रिन्स मण्डल, वरुण ठाकुरका १० वर्षीय छोरा दुर्गानन्द ठाकुर तथा सन्तोष यादवका ७ वर्षीय छोरा विकास यादव रहेका छन्।
प्रहरीले तीनै बालकलाई प्रहरी चौकी लक्ष्मीपुरमा राखी आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूका अभिभावकलाई जिम्मा लगाइएको जनाएको छ। उक्त जानकारी जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरी ले दिएका हुन्।