ई-मधेश न्युज
वित्तीय उत्पीडनविरुद्ध संघर्षको घोषणा, सुकुम्बासी आन्दोलनसँग ऐक्यबद्धता
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १९ बैशाख ।
वित्तीय उत्पीडनविरुद्धको संघर्ष समितिले सार्वजनिक जग्गा अतिक्रमणको नाममा सुकुम्बासी बस्तीमाथि भइरहेको डोजर अभियानको विरोध गर्दै सडक संघर्ष चर्काउने घोषणा गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत समितिले यस्तो उद्घोष गरेको हो ।
कार्यक्रममा संयोजक मातृका अधिकारीले अखिल नेपाल सुकुम्बासी संघले सञ्चालन गरेको आमहड्ताल कार्यक्रममा ऐक्यबद्धता जनाउँदै गरिब, किसान, साना तथा मध्यम व्यवसायीमाथि भइरहेको आर्थिक र संरचनागत उत्पीडनविरुद्ध एकजुट हुनुपर्ने बताए । “सुकुम्बासी बस्तीमा डोजर चलाउनु गरिबी उन्मूलन होइन, गरिबलाई समाप्त पार्ने प्रयास हो,” उनले आरोप लगाए ।
अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले वित्तीय उत्पीडनको सबैभन्दा ठूलो मार भूमिहीन, दलित र सुकुम्बासी समुदायले भोग्नुपरेको भन्दै संयुक्त संघर्ष अपरिहार्य रहेको धारणा राखे । उनले देशभर फैलिएको डोजर अभियानले व्यापक असन्तोष पैदा गरेको जिकिर गरे ।
समितिका सचिव सुरेश चन्द्र घिमिरेले वित्तीय संस्थाहरूको उच्च ब्याजदर, घरजग्गा लिलामी र कर्जा दबाबका कारण सर्वसाधारण गम्भीर संकटमा परेको बताए । उनले निजी बैंक तथा लघुवित्त संस्थाको नियमन कडाइ गर्न, मनपरी ब्याजदर नियन्त्रण गर्न र पीडितलाई राहत दिन सरकारसँग माग गरे ।कार्यक्रममा सहभागी अन्य वक्ताहरूले सुकुम्बासी बस्तीमाथिको डोजर अभियान नरोके कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।