ई-मधेश न्युज
बोदेबरसाईन बजारमा सरसफाई अभियान जारी
उमेश कुमार यादव,
राजविराज, १८ चैत ।
नगरपालिकाको सरसफाई अभियानअन्तर्गत आज वडा नं. ५ स्थित बोदेबरसाईन बजार क्षेत्रमा व्यापक सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ। नगर प्रमुखको नेतृत्वमा सम्पन्न उक्त अभियानमा प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अभियानका क्रममा बजार क्षेत्रका सडक, नाली तथा सार्वजनिक स्थलहरूको सरसफाई गरिनुका साथै फोहोर व्यवस्थापनसम्बन्धी जनचेतना फैलाउने कार्यसमेत गरिएको थियो। सरसफाईलाई नियमित र प्रभावकारी बनाउने उद्देश्यले स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको नगर प्रमुखले बताए।
कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण, स्वस्थ जीवनशैली र स्वच्छ नगर निर्माणका लागि यस्ता अभियान निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। नगरपालिकाले आगामी दिनमा अन्य वडाहरूमा समेत सरसफाई अभियानलाई थप विस्तार गर्ने जनाएको छ।