उमेश कुमार यादव,
राजविराज २२ असोज ।
बोदेबरसाईन नपाको वडा नं. १० खडगपुर देखि डाक्नेश्वरी नपा ३ तरही सम्म स्व. हरी प्रसाद रायको नामले पक्की सडक बन्ने भएको छ सँगै स्व. रायको समृतिमा वहाँको शालिक निर्माण हुने छ ।
सप्तरीका प्रखर समाजसेवक तथा जनसेवक योद्धा स्व. हरी प्रसाद रायको १३ औं दिनको कर्म तिथीको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रदेश नं. २ का भौतिक तथा पूर्वाधार विकास मंत्री जितेन्द्र सोनल सो कुरा बताउनु भयो ।
सप्तरीको डाक्नेश्वरी नपा ३ तरही स्थित स्व. रायको निवास स्थानमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष प्रदिप साहले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा राष्ट्रिय सभा सदस्य एवं पूर्व मंत्री मृगेन्द्र कुमार सिंह (राजबाबु) रहेका सो कार्यक्रममा जसपाका ७ सय भन्दा वढी नेता एवं कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
स्व. रायले आफ्नो छात्र जिवन देखि नै नेपाली काँग्रेसबाट आफ्नो राजनीति जीवन प्रारम्भ गरी २००७ सालको क्रान्तिमा पनि अहम भूमिका निर्वाह गर्दै पञ्चायतीकालमा पञ्चयती ब्यवस्था एवं राजतन्त्र विरुद्ध लडदै २०४८ सालमा नेपाली काँग्रेसबाट साँसद समेत बन्न सफल भएका थिए । राजनीति घटनाक्रममा मधेश आन्दोलन पश्चात मधेशीदलमा समावेश भई संविधान सभाको चुनावमा पनि लडेका थिए । वहाँले आफ्नो सम्पूर्ण जीवन देश र जनताप्रति न्योछावर गरेकाले नै वहाँको सालिक तथा वहाँको नाममा पक्की सडक निर्माण हुने बताएको छ ।
स्व. रायको श्रद्धाञ्जली तथा श्रद्धा सुमन अर्पण गर्न जसपा नेपालका नेता तथा आम जनताको विहानै देखि भिड रहेको सो कार्यक्रममा माननीय रेणु कुमारी यादव, माननीय चन्द्रकान्त चौधरी, विक्की यादव, समाजवादी विद्यार्थीै यूनियनका वरिष्ठ केन्द्रिय उपाध्यक्ष रमेश यादव, जसपाका केन्द्रिय नेता गजेन्द्र मंडल राष्ट्रिय शिक्षक मंचका केन्द्रिय सदस्य सुभाष साह जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव(मनोज) लगायतका उपस्थिती थिए ।
विद्यार्थी नेता शम्भु यादवले कार्यक्रम संचालन गर्नु भएको सो श्रद्धाञ्जली कार्यक्रममा स्वागत मन्तव्य यूवा नेता राजेश्वर रायले दिएका थिएभने माननीय रेणु कुमारी यादव, माननीय मनिष सुमन, राजविराज नपाका उपमेयर साधना झा, बलानविहुल गापाका अध्यक्ष दयानन्द गोईत राष्ट्रिय शिक्षक मंचका केन्द्रिय उपाध्यक्ष दिनेश कुमार यादव एवं प्रमुख अतिथी सिंहले मन्तव्य राखेका थिए । यसरी नै कार्यक्रममा सुभाष साहले सम्वेदना पत्र पढेर स्व. रायका जेष्ठ पुत्र शिक्षक विजय कुमार रायलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रम सम्पन्न पश्चात सोही नेता एवं कार्यकर्ताको टोली बोदे बरसाईन नपा १० खडगपुरको अमरैया स्थित राष्ट्रिय शिक्षक मंचका उपाध्यक्ष दिनेश कुमार यादवको निवास स्थानमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भएको थियो ।