उमेश कुमार यादव,
राजविराज ११ असोज ।
जसपाका कर्मठ एवं इमान्दार नेता पूर्व साँसद हरी प्रसाद रायको आईतवार रात्री निधन भएको छ । सोमवार विहान राष्ट्रिय शिक्षक मंचको आयोजनामा जसपाका केन्द्रिय नेता एवं राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव(राजबाबु) को नेतृत्वमा पार्टीका नेता–कार्यकर्ता द्वारा वहाँको पार्थिव शरीरलाई पार्टीका झण्डा ओढाएर स–सम्मान अन्तिम विदाई गरेका छन् । सो समारोहमा केन्द्रिय उपाध्यक्ष दिनेश कुमार यादव, केन्द्रिय सदस्य सुभाष कुमार साह, सप्तरीका बरिष्ट उपाध्यक्ष रामअशिष राय, विद्यार्थी नेता शम्भु यादव, प्रध्यापक अनिल मंडल, जसपाका नेता गजेन्द्र मंडल, शिक्षक चुनचुन यादव, जसपा नेता जयप्रकाश ठाकुर, जसपाका यूवा नेता दिनेश यादव, राजेश्वर प्रसाद राय र सत्यनारायण यादव सहितको सहभागिता रहेको थियो ।
नेता राय केही दिन देखि विरामी रहदै आएकोले उपचारको क्रममा सुनसरी, धरान स्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना रहेका अवस्थामा गएराति ०१ः१० बजे निधन भएको हो ।
नेता रायले आफ्नो राजनीति जीवन नेपाली काँगे्रसमा रही २००७ सालको क्रान्तिबाट प्रारम्भ गरी पञ्चायती कालमा राजतन्त्र विरुद्ध लडदै आएको थियो । वहाँ नेपाली काँग्रेसका जिल्ला सभापति समेत रही २०४८ सालमा साँसद समेत हुनु भएको थियो । राजनीति घटनाक्रममा मधेश आन्दोलन पश्चात तराई मधेश लोकतान्त्रिक पार्टीबाट प्रथम संविधान सभाको चुनाव समेत लडेका थिए । वहाँ आफ्नो सम्पूर्ण जीवन देश र जनता प्रति न्यौछावर गरेकाले नै वहाँको पार्थिव शरीरको अन्तिम विदाई यात्रामा सैकडो नेता एवं कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
नेता रायको पुत्र शिक्षक विजय कुमार रायले पनि जसपा निकट राष्ट्रिय शिक्षक मंच, सप्तरीका बरिष्ट सल्लाहकार रहनु भएको छ । वहाँले पनि आफ्नो बुवा सरह समाजसेवामा योगदान पुर्याउदै आएको छ ।
यसरी नै विभिन्न स्थानहरुमा जसपाका भेटघाट एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय शिक्षक मंचको अगुवाईमा भएको सो कार्यक्रमहरु बोदेबरसाईन नपाका वडा नं. १० अमरैया स्थित दिनेश कुमार यादवको निवास स्थल, खडग नपाको कल्याणपुर स्थित नुनु चौधरीको निवास स्थल, शम्भुनाथ नपा वडा नं. ६ का वडा अध्यक्ष मो. याकूव राईनको वडा कार्यलय र रुपनी गापा स्थित यूनिक अस्पतालमा समेत शिक्षक तथा नेता कार्यकर्तासँग भेटघाट भएको थियो । कार्यकर्ता तथा नेताहरु सँग भेटघाट गर्ने क्रममा पार्टीका भावी एजेन्डा तथा संगठन विस्तार सम्बन्धी छलफल भएको नेता राजेश्वर रायले बताए ।