उमेश कुमार यादव,
राजविराज, ३० साउन ।
राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहितका समुहले पत्रकारमाथि गरेको दुर्व्यवहार घटना विरोध गर्दै राजगढ गाउँपालिकामा बुधबार स्थानीयले धर्ना दिएका छन् । अध्यक्ष मण्डलसहित घटना संलग्न व्यक्तिलाई पक्राउ गरी अविलम्ब कारबाही गर्न माग राख्दै स्थानीयबासी गाउँपालिका अगाडि धर्ना बसेका हुन् ।
गत साउन २२ गते समाचार संकलनका लागि गाउँपालिका आएका पत्रकारहरुलाई कोठामा बन्धक बनाएर दुर्व्यवहार गरेको घटनाको विरोधमा गाउँपालिका अगाडि धर्ना बसेको स्थानीय रमाकान्त यादवले बताए ।
हाम्रा मागहरू अविलम्ब सम्बोधनका लागि दवाव स्वरुप धर्ना कार्यक्रम सुरु गरेको बताउंँदै उनले माग पूरा नभए अझ सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।
गत साउन २२ गते मंगलबार समाचार संकलनका लागि गाउँपालिका पुगेका नेपाल पत्रकार महासंघ सप्तरीका सचिब एवम् कान्तिपुर टिभीका सप्तरी प्रतिनिधि रामनारायण विश्वास, नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष एवम् राजविराज दैनिकका प्रकाशक नवीन कुमार गुप्ता, नेपाल पत्रकार महासंघ सप्तरीका कार्यसमिति सदस्य एवम् नेपाल समाचार पत्रका सप्तरी प्रतिनिधि विद्यानन्द रामलाई अध्यक्ष मण्डलसहितका समूहले प्रमुख प्रशासकीय अधिकृतको कक्षमा थुनेर, मायक खोस्नुकोसाथै हातपातसहित दुर्व्यवहार गरेका थिए ।
गाउँपालिकामा भएको विसंगति, वेतिथि तथा अवैधानिक रुपमा गरिएको १३ औं गाउँसभा खारेजीको माग गर्दै उपाध्यक्ष रेणु कुमारी मण्डलसहित बहुमत कार्यपालिका सदस्यसहित सम्पूर्ण गाउँबासी अध्यक्ष मण्डलको विरुद्ध चरणवद्व संघर्षरत रहेका छन् ।
उनीहरुको घोषित संघर्षका कार्यक्रम अन्तर्गत साउन ३० गते गाउँपालिका परिसरमा विहान १० बजेदेखि ५ बजेसम्म धर्ना, भदौ २ गते गाउँपालिका कार्यालयमा तालाबन्दी, ५ गते अनियमितता सम्बन्धमा नाराजुलुस सहित विरोध प्रदर्शन गर्ने विरोधका कार्यक्रम रहेको छ ।