उमेश कुमार यादव,
राजविराज १९ मंसिर ।
सप्तरीको विष्णपुर स्वर्णपट्टी सडक खण्डको बोदेबरसाईनको सिमा अन्तर्गतका सडक अतिक्रमण गरी दुवैतिर थुपारिएको बालुवा, गिट्टी, गोबर, पराल एवं अन्य बस्तुहरुलाई शुक्रवार खाली गरिएका छन् ।
बोदेबरसाईन नपाको पहलमा, इलाका प्रहरी कार्यालय बरसाईनका प्रमुख प्र.ना.नि अयोध्या शरण यादव नेतृत्वको प्रहरी जवान शसस्त्र वेश क्याम्प बोदेबरसाईनका प्रमुख उत्सव विष्टको कमाण्डमा खटिएका टोली, ट्राफिक प्रहरी पोष्ट बरसाईनका टोली लगायतको अथक प्रयासमा सो सडक खाली गर्ने कार्य भएको हो । खाली गर्ने क्रममा अब उपरान्त सडकमा कुनै पनि बस्तुहरु नथुपार्न पनि कडा चेतावनी समेत दिएका छन् ।
विसनपुर–स्वर्णपट्टी सडक खण्ड निर्माण हुदै बेलादेखि सडकको दुवै पट्टी जथाभावी बस्तुहरु थुपारिएर राख्नाले सवारी साधनहरु गुडन अप्ठयारो हुने भएको हुदाँ नपाले पटक–पटक सो सडक खाली गर्न सूचना दिएपनि अतिक्रमण गरिएका सम्बन्धित ब्यक्तिहरु आनाकानी गर्दै आएकोले सो सडक खाली गर्न यो अभियान चलाएको हो । खाली गर्न बाकी रहेका अन्य स्थानहरुमा भोली ८ बजे देखि पूनः सोही टोलीले खाली गर्ने कार्य गरिने प्र.ना.नि यादवले जानकारी गराए ।