भूपदेव माली,,
राजविराज, ०६ भाद्र ।
तराईका जिल्लाहरुमा सपरिवार चौरचन पर्व सम्पन्न भएको छ । प्रायः सबै तराईबासीले मनाउने यो पर्व हरेक वर्षको भदौको शुल्कपक्ष चतुर्थी तिथिमा मनाउने गरिन्छन् ।
चौरचन पर्व चतुर्थीको तिथिमा उदाएको चन्द्रलाई गरिने पूजा अराधना गर्दा पुडी, सोहडी, खिर, दही, फलफूल आदि द्वारा हात उठाई भोग अर्पण गरिन्छ । ब्रतालु महिलाले दिनभरि उपवास बसेर निस्ठापूर्वक पूजाभोग सामग्री तयार गरी चन्द्रदेवताको पूजा पश्चात अन्नग्रहण गर्दछ् ।
चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ ।ज्योतिष शास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ । यही विश्वासले मैथिल समाज कुनै पनि शुभकार्य गर्दा चन्द्रमाको स्थितिलाई अनिवार्य रूपले विचार गर्ने चलन रहेको छ ।
मैथिल समाजको भाव, कल्पना र विचारमा चन्द्रमाको व्यापकत्व रहेका कारण मैथिल समाजले धार्मिक अनुष्ठानदेखि साहित्य, संगीत, चित्रकलालगायतका विभिन्न क्षेत्रमा चन्द्रमालाई चन्द्रदेव भनी आराधना गर्दै आएको देखिन्छ ।
चन्द्रमालाई मनको देउता पनि भनिन्छ । ऋग्बेदमा धनको प्राप्ति एवं सुस्वास्थ्यका लागि चन्द्रमाको यत्रतत्र प्रार्थना गरिएको पाइन्छ । चन्द्रमाको उपासनाले कफ रोग निको हुने, वीर्य दोषबाट निवृत्ति र चञ्चल मन एकाग्र हुने धारणा पाइन्छ ।
शारीरिक कान्तिका लागि पनि चन्द्रमाको पूजा गर्ने मान्यता रहेको छ । योग शास्त्रअनुसार चन्द्रबिम्बमा ध्यानले विश्वको समस्त घटनाको ज्ञान साधकले सहजताले प्राप्त हुन्छ ।
तराईका मिथिलावासी पर्वै पर्वको रमाईलोमा जीवन व्यतित गर्ने धनि सँस्कृतिका पृष्टपोषक मानिन्छ । महिने पिच्छे ब्रतहरु गरिने मिथिलाबासीहरु चौरचन पर्वलाई पनि शुक्ल पक्षको चतुर्थी ‘अर्थात’ गणेश चतुर्थीलाई अतिनै महत्वका साथ लिएका देखिन्छ ।
चौरचन पर्व खासगरि घरपरिवारसँग मिलेर मनाई पर्व भएको हुदाँ साँझतिर घरका सवै सदस्यहरु पर्वमा सहभागी भई पूजा पश्चात सँगै बसेर पकवानहरु खाने गरिन्छन् ।