शुभ नारायण यादव सप्तरी ,२५ पुस । सप्तरीमा अर्काे हात्तीको पनि करेन्ट लागेर मृत्यु भएको छ । योसँगै डेढ महिनाभित्र करेन्ट लागेर दुई हात्तीको मृत्यु भएको छ ।
पछिल्लो पटक सप्तरीको खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएको छ । हात्तीको आतंकविरुद्ध नगरपालिकाको वडा नम्बर ४ अमहामा स्थानीयले जोडेको विद्युतीय धरापमा परी अाज बिहान हात्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको भाले हात्ती गाउँ प्रवेश गर्न लाग्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता भुवनेश्वर प्रसाद साहले जानकारि दिनुभयाे ।
डिएसपि साहका अनुसार हात्तीको विद्युतीय धरापमा परी मृत्यु भएको जानकारी वन डिभिजन कार्यालयलाई गराइसकिएको साहले जानकारि दिनुभयाे । दैनिक रुपमा हात्ती आएर आतंकित बनाउन थालेपछि यस क्षेत्रका बासिन्दाले विद्युतीय धराप लगाएका थिए । यद्यपि प्रहरीले विद्युतीय धराप लगाउनु गैरकानुनी काम भएको भन्दै यसबारे वन कार्यालयले नै कुनै निर्णय लिन सक्ने जनाएको छ ।
सप्तरीकै कञ्चनरुप नगरपालिकामा यसअघि ७ मंसिरमा एउटा हात्तीको करेन्ट लागेर नै मृत्यु भएको थियो । नगरपालिकाको वडा न.५ पडेमारामा विद्युत पोलमा शरीर घिसारेपछि तार चुँडिएर त्यो हात्तीलाई ३३ हजार केभिएको हाइटेन्सन विद्युतबाट करेन्ट लागेको थियो ।