शुभ नारायण यादव सप्तरी,१८ पुस ।
सप्तरीमा कायम रहेका ५ वटा आइसोलेशन केन्द्र मध्ये हाल सबै खाली अवस्थामा रहेका छन् । यसअघि १८ वटा स्थानिय तह मध्ये सबैमा क्वारेन्टाइन र ५ स्थानिय तहमा आइसोलेशन केन्द्र स्थापना गरिएको थियो ।
विद्यालयहरुमा बनाइएका क्वारेन्टाइन सेन्टर पठनपाठन सुरु भएपछि बन्द भएका छन् तर, ५ स्थानमा कायम गरिएका आइसोलेशन केन्द्र भने कायमै रहेपनि संक्रमित नभएका कारण खाली अवस्थामा रहेका हुन् ।
जिल्लाको राजविराजस्थित साइकृष्णा मेडिकल कलेजमा बनाइएको आइसोलेशनका साथै कंचनरुप, बोदेबरसाइन र खडग नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकामा अहिले पनि आइसोलेशन केन्द्र संचालनमै रहेपनि सबै खाली अवस्थामा छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लामा कोरोना संक्रमित नभएर आइसोलेशन केन्द्रहरु खाली भएका होइनन् । जिल्लामा हाल १३ जना संक्रमित छन् । ती सबै होम आइसोलेशनमै बस्न इच्छा व्यक्त गरेकाले हामीले ब्यवस्थापन गरेका आइसोलेशन केन्द्रहरु खाली भएका छन् ।
जिल्लामा हालसम्म २१ हजार ९८ जनाको स्वाव परिक्षण गरिसकिएको जानकारी दिँदै यादवले ती मध्ये १ हजार ८ सय २९ जनामा संक्रमण पुष्टि भएको र बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको बताए । उहाँका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमित ४१ जनाको मृत्यु भएको छ । पछिल्लो चरणमा हाल दैनिक १५ देखी २० जनासम्मको स्वाव परिक्षण भइरहेको र ती मध्ये दैनिक १ देखी ३ जनासम्ममा संक्रमण पुष्टि हुने गरेको उहाँको कथन छ ।
कोरोनाको जोखिम अहिले पनि रहँदा रहँदै संक्रमणबाट जोगिने उपाय तथा सावधानीमा लापरवाही देखिएकोप्रति चिन्ता व्यक्त गर्दै जिल्ला स्वास्थ्य प्रमुख यादवले आवश्यक सावधानी अपनाएर मात्र आ–आफ्ना गतिविधी संचालन गर्न सबैमा आग्रह समेत गरेका छन् ।