शुभ नारायण यादव,
राजविराज १४ पौष ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरिएको निर्णय कदम बिरुद्ध नेकपा (प्रचण्ड–नेपाल समूह) ले सप्तरीको सदरमुकाम राजविराजमा मंगलवार बृहत बिरोध प्रदर्शन गरेको छ ।
प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम बिरुद्ध चरणबद्ध सडक संघर्षको घोषणा गरेको प्रचण्ड नेपाल समूहले शक्ति र बिरोध प्रदर्शनसँगै आन्दोलनबाटै सरकारलाई असंबैधानिक कदम फिर्ता लिन बाध्य पार्ने चेतवानी समेत दिएका छन् ।
प्रधानमन्त्री केपी ओली बिरुद्ध चर्को नाराबाजी तथा असंबैधानिक कदम खारेजको माग गर्दै मदननगर स्थित पार्टी कार्यालयबाट निस्केको जुलुस बजार क्षेत्र परिक्रमा गरेको थियो । बजार परिक्रमा पश्चात् स्थानिय जनआन्दोलन चौकमा कोण सभामा परिणत भएको थियो । आयोजित बिरोध सभालाई जिल्ला अध्यक्ष अशोक कुमार मण्डल, प्रदेश सह इन्चार्ज महेन्द्र पासवान, जिल्ला इन्चार्ज रामप्रित पासवान, प्रदेशसभा सदस्य गोबिन्द न्यौपाने, पूर्वमन्त्री दिनेश यादव, प्रदेश कमिटी सदस्य महेश यादव लगायतकाले प्रतिनिधिसभा विघटनलाई असंबैधानिक भन्दै त्यस बिरुद्ध कानुनी र राजनीतिक लडाई सँगसँगै अघि बढाउनुपर्ने धारणा राखेका थिए ।