शुभ नारायण यादव,
राजविराज ०३ पौष ।
सप्तरीको तिलाठी कोईलाडी गापाको सकरपुरामा पात र हाँगामा छोपिएको अवस्थामा मृत बालकको शव फेला परेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न.–३ मा सकरपुरा बस्ने रोहित मुखियाका ५ वर्षीय छोरा आनन्द मुखियाको शव रहेको पहचान भएको छ ।
घरबाट खेल्न निस्केका सो बालक घर नर्फिएपछि राति सम्म पनि नआउँदा प्रहरीमा खबर गरेको पिडितका परिवारहरुले बताएका छन ।
खोजी गर्ने क्रममा शुक्रवार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो। प्रवक्ता साहका अनुसार ट्याक्टरबाट ठक्कर लागेर बालकको मृत्यु भएपछि चालकले शव पात र हाँगाको थुप्रोमा लुकाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोही गाउँका स.१ त ७७५२ नम्बर ट्याक्टर पनि नियन्त्रणमा लिइसकेको र चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रवक्ता साहले जानकारि दिनुभयो । यसै बिच सो घटनाको विषयलाई लिएर सकरपुराका हजारोै स्थानियबासिहरुले दिनभरि आन्दोलन गरेको वडा सदस्य दामोदर मुखियाले जानकारी गराउनु भयो । सो घटनाको वास्तविक छानविन गरि दोषी माथि आवश्यक कानुनी कार्वाही गर्नुपर्ने तथा सो घटनाको दोषिमाथि आवश्यक अनुसन्धान हुनुपर्ने लगायतका मांगहरु मांग गर्दै आन्दोलित बनेका थिए। यता मृतक बालकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।