राम नाथ महतो ,राजविराज ।
पछिल्लो पटक कोभिड–१९ सक्रमण तथा लकडाउनका कारणले विश्व नै संकटमा परेको छ । कोरोना सक्रमण बृद्धिको यस संकटको बेलामा सर्वसाधारण जनताहरुलाई गुजारा गर्न निकै समस्या परेको छ । खासगरी दैनिक-कामदारहरु रोजगारको अभावले आयआर्जन गर्न सकिरहेको छैन भने अर्को तिर दैनिक उपभोग्य सामग्रीको चरम मूल्यवृद्धिले गुजारा गर्न धौ–धौ परेको अवस्था छ ।
लकडाउनको बन्द र भारतीय नाकाहरु बन्दको कारण देखाएर व्यापारीहरुले समानहरु चर्को मूल्य पारेर मौकामा चौका हान्न लागि परेका छन् । अझ त हरियो तरकारी, आलु, प्याज, लसुन आदिको मूल्य आकाशिदा सर्वसाधारण मारमा परेका छन् । यी समानहरु भारतबाट आयात हुने सामान भन्दै उपभोक्तालाई ठगने कार्य भईरहेका छन् । सप्तरीका राजविराज, कंचनपुर, कल्याणपुर, भारदह जस्ता ठुला तथा मध्यम कृषि हाटहरुमा हरियो तरकारीको मोल १०० भन्दा वढीनै रहेको छ । हुन त लगातार आकाशे वर्षाले तरकारी उत्पादनमा ह्रास नभएको पनि होईन तर दैनिक उपभोग्य किराना समानहरुमा पनि मूल्य बृद्धि गरिएका छन् ।
लकडाउन हटिसकेपछि र सवारी साधनहरु प्रयाप्त चल्न थालेपछि लकडाउन तथा निषेधाज्ञा कालको भन्दा सामानहरुको मूल्यमा कमि आउनु पर्ने हो तर त्सस्तो हुन सकेको छैन । व्यापारीहरुले नुन, खानेतेल, साबुन जस्ता उपभोग्य समानहरुमा पनि मनमानी मोल असुल गर्ने भइरहेकोले बाजारको मूल्य भाऊ नियन्त्रित तथा व्यवस्थित गर्नुपर्ने नितान्त आवश्यक छ । तसर्थ यसतर्फ स्थानिय सरकार र नेपाल सरकारको ध्यान जानु आवश्यक भएको छ ।