शुभ नारायण यादव,
राजविराज, २३ कार्तिक ।
निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री सप्तरी प्रहरीले हटाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले राजविराज नगरपालिकामा राखिएका निर्वाचन प्रचार सामग्री हटाउन सुरु गरेको छ । निर्वाचन आचारसंहिताविपरीत नगरका विभिन्न ठाउँमा झुन्ड्याइएका झन्डा, पोस्टर र ब्यानर प्रहरीमार्फत हटाउन थालिएको हो ।
सप्तरी क्षेत्र नम्बर २ राजविराजमा आचारसंहिता विपरीत नगर क्षेत्र नै कुरुप हुनेगरी लगाइएको तुल, ब्यानर, पम्पलेटसहितका सामग्री हटाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले तीन दिनभित्र यस्ता सामग्री हटाउने राजनीतिक दलका नेताले प्रतिबद्धता जनाए पनि नहटाउँदा प्रहरी लगाएर हटाउन लागिएको बताउनुभएको छ ।
सप्तरी २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, लोकतान्त्रिक वाम गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुरलगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।