शुभ नारायण यादव,
राजविराज, २७ असोज ।
सप्तरीमा सशस्त्र प्रहरी बलका एक जना असईको हत्या गरिएको आरोपमा एक सहकर्मी नै पक्राउ परेका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका गोविन्दपुरस्थित सशस्त्र प्रहरी बलका असई सत्यनारायण यादवको हत्यामा निजको सहकर्मीकै संलग्नता रहेको आशंकामा एक प्रहरी जवानलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएका हून् ।
यसरी नै सशस्त्र प्रहरी बलले बुधबार राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खडकालाई प्रहरी मुख्यालय तानेको छ ।
गत असोज २० गते बिहान सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी सहायक निरिक्षक सत्यनारायण यादव सीमावर्ती बिहार राज्यको मधुवनी जिल्ला अन्तरगत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा मृत फेला परेका थिए ।
घटनाको अनुसन्धानका लागि प्रदेशबाट पनि नेपाल प्रहरीको अनुसन्धान टोली सप्तरी गएको बताएको छ । प्रहरी स्रोतकाअनुसार उनको हत्यामा सशस्त्र प्रहरी जवान होमबहादुर खत्री प्रत्यक्ष रुपमा संलग्न रहेको प्रमाणहरु फेला परेका छन् । जवान खत्री अहिले प्रहरीको नियन्त्रणमा छ ।
यद्यपी प्रहरीले यस प्रकरणबारे आधिकारिक रुपमा केही जानकारी दिएको छैन । आरोपी सशस्त्र प्रहरी जवान खत्रीको दरबन्दी अन्यत्रै रहेपनि माथिल्लो तहको अधिकारीको निर्देशनमा छिन्नमस्ता नाकामा कार्यरत थिए । सशस्त्र प्रहरी स्रोतकाअनुसार जवान खत्री सहायक हवलदारबाट घटुवा भएर जवान भएका व्यक्ती हुन् ।