सप्तरी मंसिर १८ गते । राजविराज जेसीजले बिहीबार एक समारोहका बीच विभिन्न क्षेत्रमा योगदान पु-याउने पाँच जनालाई सम्मान गर्दै जेसीज सप्ताह उद्घाटन गरेको छ । ‘जेसीज सप्ताह कार्यक्रम २०२०’ को साताव्यापी कार्यक्रमको उद्घाटनमा सम्मान कार्यक्रमको आयोजना गरी सामाजिक क्षेत्रमा योगदान पु-याउने समाजसेवी हितनारायण लाल दास, एकल महिलाको अधिकारको क्षेत्रमा योगदान पु-याउने अधिकारकर्मी अनिता देवकोटा, शैक्षिक क्षेत्रमा योगदान पु-याउने सह प्राध्यापक शुशिलचन्द्र कर्ण, न्यायिक क्षेत्रमा योगदान पु-याउने अधिवक्ता मीनाकुमारी देव र पत्रकारिता क्षेत्रमा योगदान पु-याउने माला कर्णलाई सम्मान गरेको छ । उहाँहरुलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर र मायाको चिनोस्वरुप घडी प्रदान गरी राजविराज जेसीजका अध्यक्ष नानिमैया कटवाल र पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवम् जेष्ठ नागरिक संघ प्रदेश २ का संयोजक शंकर शारदाले सम्मान गर्नुभयो । राजविराज जेसीजका अध्यक्ष कटवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसीजको योगदानको चर्चा गर्दै नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, बरिष्ठ पत्रकार शिवहरीप्रसाद भट्टराई तथा सम्मानित पाँचै जनाले मन्तव्य व्यक्त गर्नुभयो । अध्यक्ष कटवालले कोरोना महामारीले गर्दा सबै क्षेत्र प्रभावित भएको र जेसीजले स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्ना गतिविधि तथा कोभिड सम्बन्धी चेतनामूलक कार्यक्रमहरु गर्दै आएको बताउनु भयो ।
राजविराज जेसीजका महासचिव एवम् साप्ताहिक कार्यक्रमका मूल संयोजक खेलानन्द दासले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक विप्लब आनन्दले साताव्यापी कार्यक्रमबारे जानकारी गराउनु भयो । कार्यक्रममा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष प्रतापसिंह तातेड, पूर्व उपाध्यक्ष एवम् सप्तरी उद्योग बाणिज्य संघका महासचिव अनन्त साह, इटहरी जेसीजका पूर्व अध्यक्ष मोहन प्याकुरेल, राजविराज जेसीजका पूर्व अध्यक्षहरु मनोहरकुमार पोखरेल, मिलन सिंह, सन्तोष सिन्हा, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुर लगायत अधिवक्ताहरु, अधिकारकर्मीहरु, पत्रकारहरु, नागरिक समाज, बुद्धिजिवी, व्यापारीहरुको उपस्थिति रहेको थियो । जेसीज साताव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार राजविराज कारागारमा स्वास्थ्य सामग्री वितरण, शनिबार शम्भुनाथ मन्दिरको सरसफाई, आइतबार रुपनी गाउँपालिकाको रायपुर पौवास्थित जेसीज स्कूलमा शैक्षिक सामग्री वितरण, सोमबार राजविराजको गजेन्द्र चोकमा रक्तदान, मंगलबार गजेन्दनारायण सिंह अस्पतालका गर्भवती, सुत्केरी महिलालाई पोषण सामग्री वितरण र अन्तिम दिन बुधबार सुरुङ्गा नगरपालिका–३ दौलतपुरमा स्वास्थ्य सामग्री वितरण तथा अन्तरक्रिया र बेलुका लैङ्गिक हिंसामा मृत्यु भएकाहरुको सम्झनामा राजविराजको गजेन्द्र चोकमा मैनवत्ती प्रज्वलन कार्यक्रम रहेको अध्यक्ष कटवालले जानकारी दिएन् ।