शुभ नारायण यादव
राजविराज, २६ फागुन । नेपाली कांग्रेस सप्तरीको सभापतिमा संस्थापन इतर पक्षका रामदेव साह विजयी भएका छन् ।
बिहीबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार १ सय १६ मत अन्तरले संस्थापन पक्षीय उम्मेदवार शत्रुधनप्रसाद यादवलाई पराजित गर्दे साह सभापतिमा निर्वाचित भएका हुन् ।
निर्वाचित साहले १ हजार १ सय ८६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी यादवले १ हजार ७० मत प्राप्त गरे । पटक–पटक स्थगित हुँदै आएको कांग्रेस सप्तरीको निर्वाचन गत मंगलबार समपन्न भएको थियो । कुल २ हजार ५ सय ३५ मतदाता रहेकोमा २ हजार ३ सय ४२ जनाले मतदान गरेका थिए । बिहीबार बिहानबाट सभापति पदको मतगणना सुरु भएको थियो । अब पदाधिकारीको मतगणना गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।