शुभ नारायण यादव,
राजविराज, १६ मंसिर ।
कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरस अफ्रिकी मुलुकमा देखिएपछि नेपालमा पनि सर्तकता अपनाउन सीमानाकामा हेल्थ डेक्सको स्थापना गरिएको छ ।
यसका संक्रमितहरू छिमेकी मुलुक भारतमा पनि भेटिएकाले नेपालसँग खुल्ला सिमानाका जोडिएका जिल्लाहरुमा पनि सतर्कता अपनाउन थालिएको छ ।
तिलाठी कोइलाडी गाउँपालिकास्थित बेल्ही भन्सारमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ भने जिल्लाका अन्य नाकामा पनि हेल्थ डेक्स स्थापना गर्न पालिकाहरुसँग समन्वय भइरहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनु भयो ।
‘खुला सिमानाले सहजै संक्रमित जिल्लामा भित्रिनसक्ने सम्भावना रहेकाले पहिलो चरणमा भारत–नेपाल आवागमन हुने नाकाहरुमा हेल्थ डेक्स स्थापना गर्न स्थानीय पालिकाहरुसँग समन्वय भइरहेको छ । स्थानीय पालिकाले कोरोनाको पहिलो लहरदेखि नै सिमानाकामा हेल्थ डेक्स राखेर स्वास्थ्य चौकीहरुमा रहेका जनशक्ति नै परिचालन गरेका थिए तर यस पल्ट दरबन्दी नै कायम गरेर हेल्थ डेक्स सञ्चालन गर्ने प्रमुख यादवले जानकारी दिनु भयो ।
तत्काललाई करारमा कर्मचारी भर्ना गरेर हेल्थ डेक्समा खटाइने निमित्त प्रमुख यादवले बताउनु भयो । त्यसैकालागि कर्मचारी भर्ना गरिएपछि फूल टाइमर पनि हुने र स्वास्थ्य चौकीहरुको सेवा पनि प्रभावित नहुने उहाँले जानकारी दिनु भयो ।