शुभ नारायण यादव सप्तरी ,११ मंसिर ।
सप्तरीको छिन्नमस्तमा गाउँपालिका अन्तर्गतका शिक्षक कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । गाउँपालिकाको कामकाज ठप्प पारी धर्नामा बसेका शिक्षक, कर्मचारीहरुको माग सम्बोधनका लागि गाउँपालिका तयार भएकाले ४५ दिनपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।
६ महिनादेखि तलव खान नपाएका शिक्षक, कार्यालय कर्मचारी गत कार्तिक २८ गतेदेखि चरणबद्ध रिले अनशनसहितका आन्दोलनमा उत्रिएका थिए । महिनौंको आन्दोलनबाट समेत सुनुवाई नभएपछि गाउँपालिकाअन्तर्गतका १९ सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी ४ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी समेत कामकाज ठप्प पारी मंसिर १ गतेदेखि गाउँपालिका कार्यालय अगाडि अनिश्चितकालिन धर्नामा बसेका थिए ।
गाउँपालिका अध्यक्ष सुर्य नारायण मण्डलको अध्यक्षतामा शुक्रबार सम्पन्न सर्वपक्षीय बैठकबाट आन्दोलनकारीहरुले उठाएको माग सम्बोधन गर्ने निर्णय भएपछि आन्दोलन स्थगित भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश शर्माले बताए । गाउँपालिकाअन्तर्गतका सम्पूर्ण विद्यालयलाई तत्कालै पाठ्यपुस्तक उपलब्ध गर्ने, स्वास्थ्य चौकीहरुमा अतिआवश्यक औषधि व्यवस्था गर्ने, गाउँपालिकामा आबाश्यक सामाग्री उपलब्ध गराउने, एक महिनाभित्र शिक्षक कर्मचारीद्वारा उठाएका सम्पूर्ण माग सम्बोधन गर्ने निर्णय भएपछि धर्नालगायतका आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको संघर्ष समितिका संयोजक श्याम नारायण दासले जानकारी दिए ।
छिन्नमस्ता गाउँपालिकामा आर्थिक वर्ष २०७७÷०७८ को गाउँ सभा नभएका कारण आर्थिक कारोबार गर्न नसकिएपछि शिक्षक तथा कर्मचारीहरुलाई तलव खुवान समेत समस्या भएको छ । सबै सामुदायिक विद्यालयहरुका विधार्थीहरुका लागि तत्कालै पाठ्यपुस्तकसहित अन्य निकासको व्यवस्था हुनुपर्ने, सबै विद्यालय, शाखा, उपशाखा, वडा कार्यालय, स्वास्थ्य संस्थालगायत गाउँपालिका कार्यालयलाई चाहिने अतिआवाश्यक सामाग्री उपलब्ध गराउनु पर्ने, आर्थिक कारोबारको अधिकारसहित कार्यालय प्रमुखको व्यवस्था हुनुपर्ने, रोकिएको तलव तुरुन्त निकाशा हुनुपर्ने लगायत ६ सुत्रिय माग राखेर मंसिर १ गते कामकाज ठप्प पारी धर्ना बसेपछि गाउँपालिकाको सबै कामकाज प्रभावित भएका थिए ।
कर्मचारीहरुले आन्दोलन स्थगित गरेपछि आइतबारदेखि पूर्ववत गाउँपालिकाको कामकाज संचालनमा आउने भएका छन् ।
गाउपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को गाउँसभा बिहीबार राति सम्पन्न भएको थियो ।