शुभ नारायण् यादव,
राजविराज, ०५ मंसिर ।
राजविराज नगरपालिका १४ पर्साही स्थित नम्बर वडा कार्यालयमा तालाबन्दीका कारण सम्पूर्ण कामकाज पूर्ण रुपले प्रभावित भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरु उपस्थित नभएको आक्रोशमा स्थानीयले तालाबन्दी गरेको हो ।
वडा कार्यालयमा नौ दिनदेखि तालाबन्दी हुँदा सेवा पूर्ण रुपले ठप्प भएको सेवाग्राहीहरुले बताउनु भयो । तालाबन्दी हुँदा समेत खोल्नेतर्फ कसैले चासो नदिएको उनीहरुको दुखेसो छ । स्थानीय सरकार भनिएपनि वडामा तालाबन्दीका कारण कामकाज नै रोकिनु दुःखद् रहेको स्थानीय बासुदेव मण्डलले बताउनु भयो । तालवन्दीका कारण जन्म दर्ता, विवाह दर्ता लगायतका व्यक्तिगत घटना दर्तादेखि बिभिन्न किसिमका सिफारिस समेत रोकिएका कारण सर्वसाधारण जनताले सस्ती भोग्नु परेको देवनाथ सदाले बताउनु भयो ।
वडा अध्यक्ष शोभालाल मण्डलले जसले तालाबन्दी गरेको हो उसले नै ताला खोल्ने बताउनु भयो । उहाँले ताला खोल्ने विषयमा जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गरि खोल्ने र जनतालाई मार्का हुन नदिने प्रतिक्रिया व्यक्त गर्नु भयो ।