शुभ नारायण यादव,
सप्तरी, ३० कार्तिक ।
हालैको बेमौसमी वर्षाको कारणले धानबालीमा क्षति व्यहोरेका सप्तरी लागायतका जिल्लाका किसानले यतिबेला गहुँखेती गर्न रासायनिक मलको चरम अभावको समस्या झेल्नुपरेको छ । समयमै मल अभावका कारण गहुँ छर्न नपाएर समय घर्किन लागेको किसानले गुनासो गरेका छन् । वर्षापछि डुबानमा परेको होचो भागको अधिकांश क्षेत्रको जग्गा भने हिलाम्मे भएका कारण अझै खनजोत गर्न सकिएको छैन । पानी नजमेका अग्लो भागका जग्गामा खनजोत गरेर गहुँ छर्ने तयारीमा रहेका किसानलाई मल अभाव भएको हो ।
कृषि सहकारी संस्थाका प्रतिनिधि सप्तरी राजविराज स्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयमा मलका लागि दिनहुँ धाइरहेका छन् । पछिल्ला वर्षमा सहकारी संस्थामार्फत कृषकलाई अनुदानको रासायनिक मल बिक्री हुँदै आएको छ । सरकारी अनुदानको रासायनिक मल बिक्री वितरणको जिम्मेवारी पाएको सो कम्पनीमा डिएपी र युरिया मलको मौज्दात सकिएको छ ।
तराईका जिल्लामा यही कात्तिक अन्तिम हप्ताभित्रमा गहुँ छरिसक्नुपर्छ । यस समयभित्र गहुँ नछरेमा उत्पादन राम्रो नहुने किसानको भनाइ छ । “कात्तिक अन्तिमतिर गहुँ छर्दा उत्पादन राम्रो हुने भए पनि यसपालि वर्षाका कारण डुबानमा परेका खेत जोत्न सकिएको छैन”, महादेवा गाउँपालिका–१ का कृषक दशन यादव भन्छन्, “डुबानमा नपरेका अग्लो भागका जग्गामा गहुँ छर्नका लागि मल नहुँदा अर्को समस्या आइलागेको छ ।”
मल आपूर्तिका लागि गरिएको बोलपत्रमा कोरोना भाइरसको समस्याका कारण कसैले निवेदन नहालेकाले समयमै मल आपूर्ति गर्न ढिलाइ भएको छ । कोरोनाका कारण कसैको निवेदन नपरेकोले समयमै मल आपूर्ति भएन ।”
“वर्षाले खेतमै काटेर सुकाइएको धानबाली भिजेर नष्ट भएको पीडामा रहेका किसानको हिउँदयामको प्रमुख गहुँ बाली पनि समयमै गर्न नपाएर प्रभावित हुने देखिएको छ”, सप्तरीका किसान जय नारायण यादवले भनेका छन । रासायनिक मल प्रयोग गरिने खेतमा यसको प्रयोगबिना खेती गर्दा उत्पादन निकै घट्ने गरेको किसानको अनुभव छ ।