इमधेश न्यूज
सप्तरी , ४ असोज । अखिल नेपाल महिला संघ क्रान्तिकारीले सोमबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा विभिन्न ११ बुँदे माँग सहित ज्ञापन पत्र बुझाएका छन ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीकी छिन्नमस्ता गाउँपालिकाकी संयोजक किरण देवि यादव र सह संयोजक लिला मण्डल सहितका महिला टोलीले विभिन्न ११ बुँदे माँग सहित छिन्नमस्ता गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत महेश शर्मा समक्ष सो ज्ञापन पत्र बुझाएका हुन । बुझाइएको ज्ञापन पत्रमा स्वास्थ्य संस्थाहरु जस्तै अस्पताल ,स्वास्थ्य चौकी र शिक्षक संघ संस्था ,विद्यालयको हात्ताभित्र अथवा हात्ता बाहिर निश्चित दुरी सम्म धुम्रपान ,मद्यपान ,जुवातास निषेधित क्षेत्र घोषणा गर्नुपर्ने , मावि तहसम्म किशोरी मैत्री वातावरण बनाउन किशोरीहरुलाई आराम कक्ष, शौचालयको व्यवस्था ,स्यानिटरी प्याडको सहज व्यवस्था गर्नुका साथै पालिका भित्रमा रहेका माविमा एक जना स्टाप नर्सको अनिवार्य व्यवस्था गर्नुपर्ने माँग गरीएको छ ।
यस्तै आमाको नामबाट नागरिकता प्राप्त गर्न सहज वातावरण निर्माण गर्नुपर्ने ,छोरा सरह छोरीलाई पनि पैत्रिक सम्पत्तिमा समान अधिकारको व्यवस्था लागु गर्नुपर्ने ,लैङ्गिक उत्तरदायि बजेट १० प्रतिशतको व्यवस्था गरी जनचेतना ,तालिम ,सिप सिकाई गर्नुपर्ने ,महिला हिंसा मुक्त पालिका घोषणा गर्नुपर्ने लगायतका माँगहरु अघि सारिएको छ ।
यसैगरी प्रत्येक स्थानीय तहमा अल्पकालिन सुरक्षित गृह ( सेफ हाउस ) को व्यवस्था हुनुपर्ने ,सबै गर्भवति महिलाहरुलाई अस्पतालमै सुत्केरी हुने व्यवस्था मिलाउनुपर्ने ,हिंसा पिडित महिलाहरुको लागि सामाजिक न्यायिक हक ,छोरीको लागि जन्मेपछि खाताको व्यवस्था तथा उच्च मावि शिक्षा सम्म निशुल्क शिक्षा प्रदान गर्नुपर्ने लगायतका माँगहरु अघि सार्दै ज्ञापन पत्र बुझाईएको छ ।