शुभ नारायण यादव
सप्तरी ,२२ भदौ ।
सप्तरीको राजबिराज नगरपालिका वडा ७ मा निजी जग्गा अतिक्रमण गरि सर्वाजानिक बाटो बनाएको एक जग्गा धनिले पत्रकार सम्मेलनमा आरोप लगाएका छन् । सप्तरीको रुपनी गाउँपालिका वडा ५ का जग्गाधनी बिशेश्वर साहले आफ्नो सहमति बिपरीत साढे चार धुर जग्गा अतिक्रण गरि बाटोको नक्सा काटेको आरोप लगाएका हुन् ।
साहले वडा अध्यक्ष माँगिलाल नाईं, नापी अधिकृत शत्रुधन प्रसाद यादव र नगरपालिकाका नापी प्रमुख शिव चरण ठाकुरको मिलोमतोमा आफ्नो जग्गा अतिक्रमण गरि बाटोको नक्शा काटेको आरोप लगाउनु भयो । साहले आफ्नो जमिन अतिक्रमण गर्न छिमेकी जग्गाका सझेरी रामपृत मण्डलसँग उनीहरुले मोटो रकम लिएको उहाँले आरोप लगाउनु भयो ।
छिमेकी जग्गाधनी मण्डलसँग २ लाख ७५ हजार लिएर साबिकको सार्वजनिक बाटोमा घर बनाउन दिएर, निजी जमिन अतिक्रमण गरि बाटोको नक्शा कोरेको बताउनु भयो । साहले गाउँ ब्लोक नम्बर १५ रहेको १ कठ्ठा १५ धुर आफुले भोगचलन गरेको जग्गामा कुनै जानकारी नदिई नक्शा काटेको पत्रकार सम्मेलनमा बताउनु भयो । साहले दुबैजनाको जमिनको बीचबाट बाटो नलगेर एकतर्फी आफ्नो जग्गा अतिक्रमण गरि बाटोको नक्सा काटेको भन्दै आपत्ति जनाउनु भयो । नगरपालिकामा नियम अनुसारको दस्तुर बुझाउँदा समेत वडा अध्यक्ष नाईंको निर्देशनमा आफ्नो जग्गा अतिक्रमण गरेको साहको आरोप छ । पत्रकार सम्मेलनमा साहले आफ्नो जग्गा अतिक्रमण भएको बारे नगरपालिका र नापी शाखामा सम्पर्क गर्दा सुनुवाई नभएको गुनासो गरेका छन ।
राजबिराज नगरपालिका ७ का वडा अध्यक्ष माँगिलाल नाईंले आफुमाथि लगाएको आरोप निरधार रहेको बताउनु भयो । नक्शा काटेको बारे आफुलाई कुनै जानकारी नभएको बताउँदै अध्यक्ष नाईंले बाटोको नक्सा काट्न दिने अधिकार वडामा नभएको बताउनु भयो ।यसबारे नापी अधिकृत शत्रुधन प्रसाद यादवलाई टेलीफोन गर्दा सम्पर्क हुन सकेन ।