शुभनारायण यादव,
राजविराज, १२ भाद्र ।
लामो समयदेखी बन्द रहेका विद्यालय सञ्चालन वारे सप्तरीमा छलफल शुरु भएको छ ।
बैशाख महिनादेखी कोरोना महामारीका कारण बन्द रहेका विद्यालयहरु स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न छलफल सुरु गरिएको हो ।
यसैबीच जिल्लाको सुरुङ्गा नगरपालिकाले लामो समयदेखी विद्यालय बन्दभए पछि विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको भन्दै विद्यालयहरु खोलेका छन् ।
नगर प्रमुख मुक्तिनाथ चौधरीले कोभिड १९ संक्रमणबिरुद्ध स्वास्थ्य मापदण्डको पालना गरेर विद्यालय खोलिएको जानकारी दिएका छन् ।
विद्यालय मात्र बन्द राखेर सबै कुरा खुला नै रहेकाले विद्यार्थीहरुलाई पढाईबाट मात्र किन बञ्चित गर्ने भन्दै सर्वपक्षिय छलफलपछि उक्त निर्णय गरिएको उहाँको भनाई छ ।
शिक्षक र अभिभावकहरुसँगको छलफल पश्चात् शिक्षा समितिको सिफारिसअनुसार कार्यपालिकाबाट निर्णय गरि गत साउन १५ गतेदेखी तीन शिफ्टमा विद्यालयहरु संचालन भएको प्रमुख चौधरीले बताउनु भयो ।
उहाँले एउटा बेञ्चमा दुई जना विद्यार्थी मात्र बस्ने गरि व्यवस्था मिलाउन विद्यालय संचालकहरुलाई निर्देशन समेत दिएको बताउनु भयो ।
यता बाँकी रहेका स्थानिय तहका प्रमुखहरु विद्यालय सञ्चालन गर्ने विषयमा छलफलमा जुटेका छन् । जिल्ला समवन्य समितिमा हालसालै बसेको स्थानीय तहका प्रमुखको बैठकले विद्यालय सञ्चालनबारे छलफल गरेको महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले जानकारी दिएका छन् ।
छलफलमा जिल्लामा हाल कोरोना महामारीको सङ्ख्या न्यून देखिएकाले विद्यालय सञ्चालन गर्नेबारे गहनरूपमा बहस भएको जनाउँदै स्वास्थ्य मापदण्डको पालना गरी तत्काल विद्यालय सञ्चालन गर्न सकिने बताउनु भयो । जिल्लामा सङ्क्रमणदर घट्दै गएपछि कोभिड–१९ का कारण बन्द रहेका विद्यालयहरु सञ्चालनको तयारी थालिएको जनाइएको छ । लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन पूर्णरूपले प्रभावित भएको छ ।