शुभ नारायण यादव,
राजविराज, २६ साउन ।
ब्राउन सुगर तस्करी गर्ने सप्तरीका पाँच जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरबाट कारमा ब्राउन सुगर राखेर ल्याउँदै गरेको अवस्थामा सो यूवाहरुलाई प्रहरीले पक्राउ गरेको हो । सुनसरी इनरुवा नगरपालिका वडा न.–४ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने इनरुवा बसपार्कबाट प्रहरीले सप्तरीका पाँच युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.–१४ रम्पुरा मल्हनियाका २० वर्षीय अमोद कुमार यादव, तिलाठी कोइलाडी गाउँपालिका वडा न.४ का २० वर्षीय ईनर कुमार मुखिया, हनुमाननगर कंकालिनी नगरपालिका वडा न.–१४ रम्पुरा मल्हनियाका २४ वर्षीय विनोद कुमार कामत, तिलाठी कोइलाडी गाउपालिका वडा न.–४ का १९ वर्षीय रमेश मुखिया र कार चालक सोही वडाका २२ वर्षीय फूल कुमार मुखिया रहेका छन् । विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीबाट खटिएको प्रहरी टोलीले कारमा सवार पाँच जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । पश्चिमबाट आउँदै गरेको बा.१४च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार पाँच जनालाई चेकजाँच गर्दा अमोदकुमार यादवको साथबाट १३० ग्राम ब्राउन सुगर फेला परेको थियो । यता ब्राउन सुगर फेला परेपछि थप अनुसन्धानको लागि कार सहित पाँचै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।