शुभ नारायण यादव,
राजविराज, १६ साउन ।
सप्तरीको दुई अभियन्तालाई मानव अधिकार तथा सामाजिक न्यायको अभियानमा महत्वपूर्ण योगदान पु¥याएकोमा शनिवार बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित गरिएको छ ।
राजविराजमा आयोजित कार्यक्रममा २९औं प्रकाश स्मृति दिवसका अवसरमा राजविराज–७ की अनीता देवकोटा र खडक नगरपालिका–८ की रुबी कर्णलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो । उहाँहरुलार्ई पुरस्कारस्वरुप नगद ५ हजार एक सय पाँच रूपैयाँ, सम्मान–पत्र तथा दोसल्ला प्रदान गरिएको छ ।
एकल महिला र उनीहरूमा आश्रितले भोगिरहेको गरिबी, विभेद र अन्याय विरुद्ध कटिबद्ध रही विभेदरहित, हिंसारहित र सम्मानित जीवन जिउनका लागि एकल महिलालाई सशक्त गराउने अभियानमा एकल महिला समूह सप्तरीको संस्थापक भई हाल प्रदेश २ की अध्यक्ष रहनु भएकी देवकोटालाई वर्ष २०७८ का लागि पुरस्कृत गरिएको हो । मानव अधिकारको रक्षा र प्रवर्धन, उपेक्षित, उत्पीडित एकल महिलाबारेको आमधारणा र व्यवहारमा परिवर्तन ल्याउन तथा सकारात्मक दृष्टिकोण बनाउन देवकोटाले निरन्तर आवाज उठाइ रहनु भएको छ ।
यसैगरी विद्यार्थीकालदेखि नै राजनीतिमा होमिई ग्रामीण भेगमा २०६४ सालमा सहकारी स्थापना गरी सिपमूलक, आयमूलक कार्यक्रम सञ्चालन गर्दै गरीब, असहाय, अल्पसङ्ख्यक, उत्पीडनमा परेका महिलाको चेतना अभिवृद्धिमा योगदान गर्नुभएकोमा कर्णलाई वर्ष २०७७ का लागि पुरस्कृत गरिएको छ । कोभिड–१९ को महामारीका कारण गत वर्ष पुरस्कार वितरण कार्यक्रम हुन सकेको थिएन् ।
बैद्य–प्रकाश मानवअधिकार कोष समितिद्वारा आयोजित कार्यक्रममा प्रदेश १ का योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले आफ्नो लागि नभई अरुको अधिकारको सम्मान गर्नु नै मानव अधिकार भएको बताउनु भयो । मानव अधिकारप्रति संविधान र दलहरु प्रतिबद्ध रहेकोमा गौरव महसुस गर्दै प्याकुरेलले मानव अधिकारको प्रगतिशील व्याख्या गर्न जरुरी रहेको र सबैभन्दा अपहेलित, पछाडि पारिएकाहरुलाई आत्मनिर्भर बनाउन आवश्यक भएको बताउनु भयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित राजविराज–६ का बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना गरिएको बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषमा उहाँकी आमा चन्द्रादेबी झाले सामाजिक सुरक्षा भत्तावापत पाउनु भएको ५० हजार थप गर्नुभएको छ ।
पुरस्कार कोषका संस्थापक बैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिका उपप्रमुख साधना झा, सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जेष्ठ नागरिक महासंघका प्रदेश २ अध्यक्ष शंकर शारदा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, राजविराज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष भरत यादव, महिला शिक्षक मञ्जु श्रेष्ठले मानवअधिकारको चेतना गाउँ–गाउँसम्म पु¥याउनुपर्ने र सरोकारवाला निकायले मानव अधिकारको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।
उक्त पुरस्कारबाट पहिलोपटक सुरुङ्गा नगरपालिका–४ का बलदेव राम, दोस्रो पटक छिन्नमस्ता गाउँपालिका–२ का युक्तिलाल मरिक, तेस्रो पटक अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ का असर्फि सदा र चौथो पटक राजविराज नगरपालिका–६ का मनोहर पोखरेल सम्मानित हुनु भएको थियो ।
इन्सेकका संस्थापक महासचिव र मानव अधिकार संरक्षण मञ्चका आजिवन महासचिव काफ्लेको ४० वर्षको उमेरमा ०४९ साउन १६ गते थाइ एयरबसको विमान नुवाकोटको घोप्टेभीरमा दुर्घटना हुँदा निधन भएको थियो ।