शुभ नारायण यादव,
राजविराज, १४ साउन ।
सप्तरीको राजविराज नगरपालिकाका जनप्रतिनिधिले कार्य गर्नु पर्नु भन्दा पनि ब्यक्तिगत लाभ हुनतिर केन्द्रित भई दुई महिनामै सुविधा र भत्ता वापत २६ लाखभन्दा बढी रुपैयाँ बुझेका पाइएको छ ।
जनताको सेवा सुविधालाई पछाडी पार्दै नगरपालिकाको तथ्यांकअनुसार गत चैत र वैशाख महिनामा जनप्रतिनिधिले सुविधा र भत्ता वापत २६ लाख ५० हजार २३० रुपैयाँ बुझेका हुन् । जसअनुसार नगर प्रमुख शम्भुप्रसाद यादवले ६६ हजार ३३० रुपैयाँ र उपप्रमुख साधना झाले ६७ हजार ३२० रुपैयाँ बुझेका छन् ।
यसैगरी, १ का वडाध्यक्ष चन्द्र शेखर चौधरीले ३३ हजार ६६०, २ का वडाध्यक्ष अरुणकुमार यादवले ५४ हजार ४५०, ३ का वडध्यक्ष सुदर्शन प्रसाद सिंहले ३३ हजार ६६०, ४ का वडाध्यक्ष अख्तर अलि मियाँले ३३ हजार ६६०, ५ का वडाध्यक्ष समिर झाले ३३ हजार ६६० रुपैयाँ बुझेका छन् ।
वडा नम्बर ६ का वडाध्यक्ष प्रेमकुमार यादवले ३३ हजार ६६०, ७ का वडाध्यक्ष मागिलाल नाईले ४७ हजार ७२०, ८ का वडाध्यक्ष जयनारायण मण्डलले ४७ हजार ५२०, ९ का वडाध्यक्ष शम्भुप्रसाद यादवले ४२ हजार ५७०, १० का वडाध्यक्ष सुशिलकुमार दासले ३३ हजार ६६० रुपैयाँ बुझेका छन् ।
यसैगरी ११ का वडाध्यक्ष संजयकुमार यादवले ३३ हजार ६६०, १२ का वडाध्यक्ष हरिहर यादवले ३३ हजार ६६०, १३ का वडाध्यक्ष राजेन्द्र प्रसाद यादवले ४७ हजार ५२०, १४ का वडाध्यक्ष शोभा लाल मण्डलले ३३ हजार ६६०, १५ का वडाध्यक्ष राम प्रसाद यादवले ३३ हजार ६६० र १६ का वडाध्यक्ष बुचाई दासले ३३ हजार ६६० रुपैयाँले बुझेका हुन् ।
जनताको समस्याहरुलाई र नगरको विकास कार्यलाई थाती राखी सुविधा भत्ता तिर जनप्रतिनिधिहरुले केन्द्रित भएको उपरोक्त तथ्याङ्कले प्रष्टाएपनि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले प्रदेश सरकारले तोकेको बमोजिम जनप्रतिनिधिहरुले सुविधा र भत्ता पाएको बताउनु भयो । जनप्रतिनिधिहरुको सो कुरालाई खण्डन गर्दै अधिकृत थापाले‘उहाँहरुको अतिथी सत्कारदेखि पत्रपत्रिका खर्च वापतको सुविधा र भत्ता रहेको बताउनु भयो ।