शुभ नारायण यादव,
राजविराज, १४ साउन ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबारदेखि प्राविधिक गडवढीले गर्दा तत्काल बन्द रहेको पिसिआर परीक्षण विहिवार देखि पुनः सञ्चालन भएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रन्जित कुमार झाका अनुसार पिसिआर मेसिनमा प्राविधिक सामान्य गडबडी भएका कारण तत्काल एक दिन बन्द रहेको कोरोना भाइरसको स्वाब परीक्षण फेरि सञ्चालन भएको उनले जानकारी दिए । विगत दुई तीन दिनअघि मात्रै सप्तरीमा ४० जनाको पिसिआर परीक्षण गर्दा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । सोही अनुरुप जिल्ला स्वास्थ्य कार्यालयले सङ्क्रमण बढ्दो क्रममा देखिएकाले परीक्षणको दायरासमेत बढाउनुपर्ने आवश्यकता रहेको डा.झाले बताए । कोरोना सङ्क्रमणका कारण सप्तरीमा एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार खडक नगरपालिकाकी ४७ वर्षीया महिलाको मृत्यु भएको छ । गत असार ३१ गते सङ्क्रमण देखिएको उहाँको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १५६ पुगेको छ ।