शुभ नारायण यादव,
राजविराज, ०४ साउन ।
सप्तरीको रुपनी गाउँपालिका वडा न. ४ मा एक व्यक्तिको देबता घरमा गहुमन प्रजातीका सर्प निस्केपछि महादेवको नाग हो भन्दै स्थानियले विश्वास गरी पूजा गर्न थालिएको छ । सोमवार विहान स्थानिय श्याम मडरको घरमा सो सर्प भेटेपछि तत्काल महादेवको नाग हो भनेर घर अगाडी रहेको शिव मन्दिरमा राखिएको छ । यतिबेला सो ठाउँमा दर्शकहरुको ठूलो भीड लागेको स्थानीयले बताए । यता सर्पको उद्धार गर्ने प्रयास भइरहेको छ । गर्मीमा सर्प बाहिर निस्किने गर्छ । तर आज पहिलो सोमबारी भएकाले भगवान शिवको रुपमा नाग दर्शन दिएको स्थानीयले विश्वास गरेका छन् । श्रावणको पहिलो सोमवारी भएकाले सप्तरीको शम्भुनाथ स्थित शम्भुनाथ मन्दिरका साथै राजविराज स्थित भगवती मन्दिर , महदेवा गाउपालिका स्थित महादेव मन्दिर, हनुमाननगर कंकालिनी नगरपालिका स्थित कंकालिनी मंदिरको प्राङ्गणमा रहेको महादेव मनिदर, रम्परा मल्हनियाको महादेव मन्दिर, छिन्नमस्ता गाउपालिका ४ स्थित लालापट्टीको लालेश्वर नाथ मन्दिर ,बरही बिरपुर स्थित महादेव मन्दिर लगायतका स्थानमा रहेको शिव मन्दिरहरुमा हजारांै भक्तजनहरुको भिड लागेको थियो । बेद वर्णित कोशीको ब्यारेजबाट जल भरेर सप्तरीका विभिन्न मठ मन्दिरहरुमा चढाउन कावरियाहरुको कोशी ब्यारेजमा ठूलो भिड रहेको थियो ।