शुभ नारायण यादव सप्तरी ,२५ असार ।
सप्तरीको राजविराज स्थित रहेको गजेन्द्र नारायण सिंह अस्पतालको अवस्था पुरानो झै लथालिङ्ग भएको छ । वर्षौदेखिको प्रयासपछि सो अस्पतालमा सञ्चालनमा आएको सात महिना नवित्दै सिटी स्क्यान सेवा बन्द भएको छ । गत मंसिर २५ गतेदेखि सिटी स्क्यान सेवा सञ्चालनमा आएको थियो । सिटी स्क्यान कक्षमा पानी जम्ने गरेका कारण अहिले अनिश्चितकालका लागि सो सेवा बन्द भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा उपचार सेवा खस्किदै गएको सेवाग्राहीहरुले गुनासो गरिरहेको बेला अहिले सिटी स्क्यान सेवा पनि बन्द भएपछि उनीहरु निराश बनेका छन् । ‘केही वर्षअघिसम्म रेफरल सेन्टरको नामले अस्पताल परिचित थियो नै, पछि व्यापक सुधार पनि भयो तर अहिले फेरी अस्पताल त्यहि दिशातर्फ उन्मुख देखिन्छ’ राजविराजका सागर यादवले ‘यद्यपी, यसतर्फ अस्पताल प्रशासन र सरोकारबाला निकायले चासो नदेखाउनु सप्तरीवासीकै लागि दुर्भाग्य हो ।’
सिटी स्क्यान गराउन आएका अर्का सेवाग्राही बोदे बरसाइनका हरिदेव मण्डलले सेवा बन्द हुँदा चर्को मुल्य तिरेर बाहिर सिटी स्क्यान गराउनुपर्ने बाध्यता आइलागेको बताउनु भयो । ‘ हाल सो मेसिनबाट ३२४ जनाले सिटी स्क्यान सेवा पाएको अस्पतालका रेडियोलोजिष्ट अन्जु पटेलले बताइन् ।
उता, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रणजीत कुमार झाले भवनमा पानी जम्ने समस्यालाई समाधानका लागि प्रयास जारी रहेको बताउनु भयो । ‘भवनमा पानी जम्ने समस्या छ, त्यसलाई ४÷५ पटकसम्म मर्मत पनि गराइसके तर पनि समस्या जस्ताको त्यस्तै छ’ उहाँले ‘यद्यपी, प्रयास जारी छ, समाधान भएसँगै पुनः सेवा सुचारु हुन्छ ।’