सप्तरी असार २३ गते ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा सोमवार विहान आएको भारी वर्षाले गाउँपालिका जलमग्न भई बाढीले घरवार विहीन भएका प्रति गाउँपालिका उदासिन छ । गाउँपालिका बाढीपीडित राहत खोज्दै गाउँपालिकाको कार्यालय सितापुर धाउन थालेका छन् । भारी वर्षासँगै सोमबार आएको बाढीले घरबारबिहीन भएका पीडितहरु क्षतिपूर्ति तथा राहत माग गर्न गाउँपालिका पुगेका हुन् ।
गाउँपालिकाद्वारा राहत बितरणमा ढिलाई गरेकाले बाढीपीडितहरु बिचल्लीमा परेको स्थानीय दिनेश प्रसाद साहले बताउनु भयो । भारी बर्षासँगै आएको बाढीले घर भत्किएका अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ बकधुवाकी रामबती देवी दास क्षतिपूर्ति तथा राहतका लागि गाउँपालिकाको कार्यालय सितापुर पुगेकी छिन् ।
दुधेबालक काखमा च्यापेर गाउँपालिकामा बुधबार ११ बजे भेटिएकी दास राहत भेट्ने आशले आएको बताउँछिन् । बर्षाको पानीले घर भासियो, उनले भनिन– घर बनाउने हैसियत छैन । जमिनको नाममा जम्मा १ कठ्ठा छन् त्यही घर बनाएर ओत लाग्दै थिए भएको घर पनि बाढीले भत्काई दियो । दासले घरसँगै बाख्राका पाठा समेत घरले च्यापेको बताईन् ।
एक्कसी बाढीले घर भाँसिदा घरमा भएको आन्नपात, लत्ताकपडा, भाँडाकुडा, फर्निचरका कुनै पनि सामान निकाल्न नपाएको बताईन् । बाढी घरमा पस्न थालेपछि आफुहरु घर छोडेर निस्किएकाले बल्ल ज्यान जोगाएको उहाँले सुनाईन् । उनले १२ जना परिवार रहेको जानकारी दिदै केही रोजगारीका लागि बाहिर रहेको र अन्य सबैजना छिमेकीको घरमा शरण लिएर बसेको बताईन् । श्रीमान् रोजगारीका लागि काठमाडौंमा रहेकोले खानाको जोहोसम्म गर्ने कोही नहुँदा भोकभोकै बस्नु परेको उहाँले दुखेसो सुनाईन् ।
सासुससुराहरु आफान्तको तिर लागेको बताउँदै दासले हाल २ नन्द र छोराछोरी छिमेकीको घरमा बस्दै आएको जानकारी दिईन् । दासले गाउँपालिकामा राहत दिन्छ भनेको सुनेर आएको बताईन् । राहत तथा क्षतिपूर्तिका लागि प्रक्रियासम्म नबुझेकी दास गाउँपालिकामा बसेको घण्टौ बित्दा समेत कसैले खोजी नगरेको गुनासो गर्छिन् । उनी प्रतिनिधि पात्र मात्र हुन् ।
भारी वर्षासँगै आएको बाढीले अग्निसाईर कृष्णासवरन गाउँपालिकामा ४ सय भन्दा बढी परिवार बिस्थापित भएका छन् । बाढी घरमा पस्दा उनीहरुको चुल्होसम्म बल्न सकेको छैन । बाढीले पोखरी, बाटो, पुल, हेडबान लगायतका पूर्वधारहरुमा ठूलो क्षति गरेको छ । बर्षासँगै महुली खोलाले बगाएर १ जनाको ज्यान गएको छ भने सयौं घरहरूमा क्षति पुगेको छ । बाढीपीडितको राहत र उद्धारमा गाउँपालिकाले प्रभावकारी काम गर्न सकेको छैन । बाढीको पानीले दिन काट्न कठिन हुँदा समेत हालसम्म कतैबाट राहत तथा सहयोग उपलब्ध नभएको पीडितहरुको गुनसो छ ।
गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले समस्या परेका बाढी, पानी पीडितको उद्धारका लागि परेको बताउनु भयो । पानी जम्ने क्षेत्रका बास्तीमा पुगेर पानी निकासीको कार्यलाई प्राथमिकता दिएर काम भईरहेको उहाँले जानकारी दिनु भयो । बिभिन्न वडाका घरधुरीको क्षति र पीडितहरुको तथ्यांक संकलन भईरहेको बताउँदै अध्यक्ष चौधरीले छिटै राहत उपलब्ध गराउने जानकारी गराउनु भयो । बाढीका कारण गाउँपालिकामा ईतिहासकै सबैभन्दा बढी धनजनको क्षति भएको जानकारहरु बताउँछन् ।सोमबार बिहान आएको भारी बर्षाले अग्निसाईर कृष्णासवरन गाउँपालिका जलमग्न भएका थिए ।