शुभ नारायण यादव,
राजविराज, २२ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय नबनाएर सामञ्जसताको आधारमा अगाडी बढनु पर्ने बताएका छन् ।
सप्तरीको सदरमुकाम राजविराजमा मंगलवार रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास कार्यक्रममा उहाँले सो कुरा बताएका हुन । प्रधानमन्त्री ओलीले भौगोलिक, सामाजिक, भाषिक विविधता द्वन्द्वको विषय नभई सम्पन्नताको प्रतीक भएको बताउदै ‘हाम्रो देशमा भौगोलिक, प्राकृतिक, सामाजिक, जैविक, भाषिक विविधता रहेकोले यसलाई अर्को विषय बनाउनु हुन्न । यो हाम्रो सौभाग्य, सम्पदा र सम्पन्नता हो, समृद्धि हो’ प्रधानमन्त्री ओलीले भने, ‘यसलाई हामीले मनमुटावको बिषय, द्वन्द्वको विषय बनाउनुहुन्न, यसले हाम्रो एकतालाई खलल गर्ने काम गर्छ ।’
प्रधानमन्त्री ओलीले कृषि उत्पादनलाई विदेशमा निर्यात गर्ने स्थितिमा पु¥याएको पनि दावी गरे । ‘कृषिमा गुणस्तरीय उत्पादन र निर्यातका लागि काम गर्यौं । खेतहरुमा सिंचाइको प्रबन्ध हामीले ग¥यौं’ उनले भने, ‘हामी विकास गर्न सक्छौं । विकासका कामलाई अगाडि बढाउन सक्छौं ।’
स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम गुणस्तरीय हुन्छ
प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम चाँडै हुने बताए । ‘भवन निर्माणको काम छिटै र गुणस्तरीय रुपमा सम्पन्न हुनेछ’ उनले भने ।
जग्गा प्राप्त भएको, डिजाइन बनेको तथा बजेटको पनि व्यवस्था भइसकेकाले काम चाँडै सम्पन्न हुने बताएका छन। यो काममा स्थानीय पालिका, जनप्रतिनिधि र आम जनताको सहयोग हुने विश्वास उनले व्यक्त गरेका छन ।
कुल ११ अर्ब ९८ करोडको अनुमानित लागतमा ६२ विघा जग्गामा प्रतिष्ठान निर्माण हुन लागिएको हो ।
प्रतिष्ठानको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) कालागि १५ करोड रुपैयाँ छुट्याइएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका निर्देशक डा.रणजीत कुमार झाले जानकारी दिए । ‘डिपिआर गर्न करिब ५÷६ महिना समय लाग्छ’, उनले बताएका छन ।
उक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, मधेश आयोगकी सदस्य आभासेतु सिंह, पूर्व सिंचाई मन्त्री उमेश कुमार यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, नेकपा एमालेका केन्द्रीय सदस्य सुखराम यादव, जनता समाजवादी पार्टी प्रदेश २ का सचिव दिनेश यादव र जिल्ला अध्यक्ष केदार प्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, राजविराज नगरपालिकाकी उप–मेयर साधन झा, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली लगायतकाहरुको उपस्थिती रहेको थियो ।
सप्तरीमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने समाचारले सप्तरी बासी खुशी भएका छन् ।